Like us!
Follow us!
Connect us!
Watch us!

सात महिनामा ४० प्रतिशत मात्रै बजेट खर्च, १५ प्रतिशतमा खुम्चियो विकास खर्च

अर्थ संसार

शुक्रबार, ०१ फागुन २०८२, १३ : १० मा प्रकाशित

सात महिनामा ४० प्रतिशत मात्रै  बजेट खर्च, १५ प्रतिशतमा खुम्चियो विकास खर्च

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ७ महिनामा सरकारको आम्दानी र खर्च दुवै कमजोर देखिएका छन्। महालेखा नियन्त्रक कार्यालयका अनुसार माघ मसान्तसम्म सरकारको आम्दानी वार्षिक लक्ष्यको ४४ प्रतिशत र खर्च करिब ४० प्रतिशतमा सीमित भएको छ।

यस आर्थिक वर्षका लागि कुल १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट विनियोजन गरिएकोमा माघ मसान्तसम्म ८ खर्ब १ अर्ब ३७ करोड ४९ लाख रुपैयाँ मात्र खर्च भएको छ । जुन कुल विनियोजनको ४०.८ प्रतिशत हो। चालुगततर्फ ११ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ विनियोजन गरिएकोमा ४७.६२ प्रतिशत अर्थात् ५ खर्ब ६२ अर्ब ३७ करोड १५ लाख रुपैयाँ खर्च भएको छ। पुँजीगततर्फ ४ खर्ब ७ अर्ब ८८ करोड ८० लाख रुपैयाँ छुट्याइएकामा हालसम्म १५.६२ प्रतिशत अर्थात् ६३ अर्ब ७२ करोड ९९ लाख रुपैयाँ मात्र खर्च भएको छ। वित्तीय व्यवस्था शीर्षकमा ३ खर्ब ७५ अर्ब २४ करोड २० लाख रुपैयाँ विनियोजन गरिएकोमा माघ मसान्तसम्म ४६.७१ प्रतिशत अर्थात् १ खर्ब ७५ अर्ब २७ करोड ३५ लाख रुपैयाँ खर्च भएको छ।

राजस्व संकलनतर्फ सरकारले चालु आवमा १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ उठाउने लक्ष्य राखेको थियो। तर माघ मसान्तसम्म ४४.४९ प्रतिशत प्रगति मात्र भएको छ। हालसम्म ६ खर्ब ८२ अर्ब १६ करोड ७३ लाख रुपैयाँ राजस्व संकलन भएको छ।

कर राजस्वतर्फ वार्षिक लक्ष्यको ४५.२१ प्रतिशत अर्थात् ५ खर्ब ९९ अर्ब ३१ करोड ४६ लाख रुपैयाँ संकलन भएको छ भने गैरकर राजस्वतर्फ ४२.५५ प्रतिशत अर्थात् ६५ अर्ब ७१ करोड ३ लाख रुपैयाँ उठेको छ। यस्तै, चालु आवमा ५३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ बराबरको वैदेशिक अनुदान लिने लक्ष्य राखिएको थियो। तर माघ मसान्तसम्म १२ अर्ब ८३ करोड ७९ लाख रुपैयाँ अर्थात् वार्षिक लक्ष्यको २४.०२ प्रतिशत मात्र प्राप्त भएको कार्यालयले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको