पछिल्लो सात महिनामा करिब एक सय छवटा मुलुकमा कामका लागि जान मासिकरूपमा करिब ५५ देखि ६५ हजार युवाहरूले श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार ७ महिनामा वैदेशिक रोजगारीमा जान चार लाख ७२ हजार छ सय ७३ जना युवाले श्रमस्वीकृति लिएका हुन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा दुई दशमलव २५ प्रतिशत अर्थात् १० हजार चार सय २२ जनाले बढी हो । गत आर्थिक वर्षको सात महिनामा चार लाख ६२ हजार दुई सय ५१ युवाले श्रम स्वीकृति लिएका थिए ।
विभागका उपमहानिर्देशक एवं प्रवक्ता चन्द्रबहादुर शिवाकोटीले चालू आवको सात महिनामा सबैभन्दा कम ९८ वटा मुलुक र सबैभन्दा बढी एक सय १४ वटा मुलुकमा काम गर्न जानका लागि युवाहरूले श्रम स्वीकृति लिएको जानकारी दिए । उनका अनुसार साउनमा एक सय पाँचवटा मुलुकका लागि ६८ हजार एक सय १० जना (पुरुष ५८९४८ र महिला ९१६२) र भदौमा ९८ वाट मुलुकका लागि ६७ हजार नौ सय ७२ जना (पुरुष ५९९२३ र महिला ८०४९) र असोजमा एक सय १४ वटा मुलुकका लागि ६४ हजार छ सय ३४ जना (पुरुष ५६६२५ र महिला ८००९)ले श्रम स्वीकृति लिएका छन् ।
कात्तिकमा एक सय छवटा मुलुकका लागि ७३ हजार ९४ जना (पुरुष ६४४९० र महिला ८६०४), मंसिरमा एक सय आठवटा मुलुकका लागि ६५ हजार सात सय पाँच जना (पुरुष ५८०८३ र महिला ७६२२), पुसमा एक सय पाँचवटा मुलुकका लागि ६२ हजार पाँच सय ५९ जना (पुरुष ५५५४१ र महिला ७०१८) र माघमा एक सय सातवटा मुलुकका लागि ७० हजार पाँच सय तीन जना (६२१६२ पुरुष र ८३४१ महिला)ले श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगारीमा जानका लागि महिलाभन्दा सात, आठ गुणा बढी पुरुषले श्रम स्वीकृति लिएका छन् । श्रम स्वीकृतिको लागि तुलनात्मकरूपमा महिलाभन्दा बढी पुरुष देखिए पनि सरकारले श्रम सम्झौता तथा द्विपक्षीय सम्झौतामा ध्यान दिन नसक्दा उनीहरू असुरक्षित वातावरणमा काम गर्नुपर्ने बाध्यता रहेको जानकारहरू बताउँछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस