निर्वाचन आचारसंहिता उल्लंघनमा ७५ जनालाई स्पष्टीकरण सोधिएको छ । यसमध्ये ५२ जनाले जवाफ दिएको निर्वाचन आयोगले जनाएको छ ।निर्वाचन आयोगका उपसचिव एवं सहायक प्रवक्ता सीता पुनका अनुसार शुक्रबारसम्म केन्द्रीय आचारसंहिता अनुगमन समितिमा प्राप्त उजुरीमध्ये ७५ वटाका सम्बन्धमा सम्बन्धित राजनीतिक दल तथा उम्मेदवारहरूलाई स्पष्टीकरण सोधिएको हो ।
२१ फागुनमा तोकिएको निर्वाचनका लागि आयोगले तोकेको आचारसहिताविपरीत काम गरेपछि आयोगले स्पष्टीकरण सोध्ने गरेको छ । ५२ जनाले जवाफ दिए पनि बाँकीको जवाफ आउन बाँकी रहेको आयोगले जनाएको छ । जिल्लास्तरमा आचारसंहिता अनुमगनलाई प्रभावकारी बनाई कार्यान्वयन सुनिश्चितताका लागि ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई समुच्च विषय र प्रमुख कोष नियन्त्रक/कोष नियन्त्रकलाई आर्थिक विषयमा अनुगमन गर्न आचारसंहिता अनुगमन अधिकृत तोकिएको छ ।
अनुगमन अधिकृतहरुले आचारसंहिता परिपालनाका लागि राजनीतिक दल, उम्मेदवार तथा सरोकारवालासँग छलफल गर्ने गर्दछन् । आचारसंहिता उल्लंघनका घटनाको जानकारी लिने र स्पष्टीकरण माग गर्ने विषय पनि अनुगमनका आधारमा अगाडि बढ्दछन् ।
आयोगका अनुसार निर्वाचन आचारसंहिताको प्रभावकारी परिपालना गराई उल्लंघनका घटनालाई न्यूनीकरण गर्न प्राप्त उजुरीमा आवश्यक जाँचबुझ र कारबाहीका प्रक्रिया जारी राखेको छ । आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि केन्द्रीय आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुमगन अधिकृत तथा सम्बन्धित निर्वाचन कार्यालयहरु क्रियाशील छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस