Like us!
Follow us!
Connect us!
Watch us!

हवाई आक्रमणमा इरानका सर्वोच्च नेता अली खामेनी मारिएको सरकारी पुष्टि, देशभर ४० दिन सार्वजनिक शोक घोषणा

अर्थ संसार

आइतबार, १७ फागुन २०८२, ०८ : १५ मा प्रकाशित

हवाई आक्रमणमा इरानका सर्वोच्च नेता अली खामेनी मारिएको सरकारी पुष्टि, देशभर ४० दिन सार्वजनिक शोक घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी हवाई आक्रमणमा मारिएको दाबी गरेपछि अन्तर्राष्ट्रिय स्तरमा तीव्र चर्चा सुरु भएको छ। यसैबीच इरानको सरकारी सञ्चारमाध्यमले आइतबार खामेनीको मृत्यु भएको पुष्टि गर्दै देशभर ४० दिन सार्वजनिक शोक घोषणा गरिएको जनाएको छ।

इरानको सरकारी समाचार संस्था फार्स न्युज एजेन्सीका अनुसार इस्लामिक क्रान्तिका सर्वोच्च नेता खामेनी शनिबार बिहान भएको आक्रमणका क्रममा आफ्नो कार्यकक्षमै रहेका बेला मारिएका हुन्। एजेन्सीले प्रकाशित गरेको विवरणमा उनी नियमित सरकारी जिम्मेवारी निर्वाह गरिरहेका समयमा नेताको निवास परिसरस्थित कार्यालयमा आक्रमण भएको उल्लेख गरिएको छ।

फार्सका अनुसार आक्रमण हुँदा खामेनी आफ्नो कार्यस्थलमै उपस्थित थिए र सो घटना शनिबार बिहान सबेरै भएको थियो। सरकारी स्रोतलाई उद्धृत गर्दै समाचारमा भनिएको छ कि उनी आफ्नो जिम्मेवारी पूरा गर्ने क्रममा रहेकै अवस्थामा आक्रमण भएको हो।

यससँगै इरानी सरकारी सञ्चारमाध्यमले पछिल्लो समय केही अन्तर्राष्ट्रिय तथा क्षेत्रीय सञ्चारमाध्यममा आएको खामेनी सुरक्षित स्थानमा लुकेर बसेको भन्ने दाबीलाई अस्वीकार गरेको छ। फार्सले त्यस्ता समाचारलाई “शत्रुपक्षद्वारा फैलाइएको मनोवैज्ञानिक युद्ध” को हिस्सा भएको दाबी गर्दै उनको कार्यालयमै मृत्यु भएको घटनाले ती दाबीहरू गलत सावित गरेको जनाएको छ।

रिपोर्टमा खामेनी अन्तिम समयसम्म पनि जिम्मेवारी निर्वाह गर्दै जनतामाझ निर्भीक रूपमा उभिएको उल्लेख गर्दै उनको मृत्यु “शहादत” भएको रूपमा व्याख्या गरिएको छ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोशलमार्फत शनिबार भएको हवाई आक्रमणमा खामेनी मारिएको दाबी सार्वजनिक गरेका थिए। उक्त दाबीपछि मध्यपूर्वको सुरक्षा अवस्था, क्षेत्रीय शक्ति सन्तुलन तथा अन्तर्राष्ट्रिय राजनीतिक प्रभावबारे व्यापक चासो बढेको छ।

खामेनीको निधनसँगै इरानभर ४० दिन राष्ट्रिय शोक मनाइने सरकारी निर्णय सार्वजनिक भएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको