Like us!
Follow us!
Connect us!
Watch us!

टि ट्वान्टी विश्वकप : भारत सेमिफाइनलमा, सञ्जुको उत्कृष्ट ब्याटिङ

अर्थ संसार

सोमबार, १८ फागुन २०८२, ०८ : ३९ मा प्रकाशित

टि ट्वान्टी विश्वकप : भारत सेमिफाइनलमा, सञ्जुको उत्कृष्ट ब्याटिङ

सञ्जु सामसनको उत्कृष्ट प्रदर्शनको मद्दतले भारतले वेस्ट इन्डिजलाई ५ विकेटले हराउँदै टि ट्वान्टी विश्वकपको सेमिफाइनलमा पुगेको छ । कोलकाताको इडेन गार्डेन्समा सुपर एटको अन्तिम खेलमा १९६ रनको लक्ष्य पछ्याएको भारतले १९. २ ओभरमा ५ विकेट गुमाएर १९९ रन बनायो ।

लक्ष्य पछ्याउने क्रममा अभिषेक शर्माले आक्रामक सुरुआत गरे । तर अभिषेक शर्मा (१० रन) र इशान किशन (१० रन) दुवै आउट भएपछि भारत ४१ रनमा २ विकेट गुमाएर दबाबको अवस्थामा पुगेको थिए । त्यसपछि सञ्जु सामसन र सूर्यकुमार यादवले तेस्रो विकेटका लागि ५८ रनको महत्वपूर्ण साझेदारी गरे । सामसनले अर्धशतक पूरा गरे भने सूर्यकुमार १८ रनको योगदान दिए । तर सूर्यकुमार क्याच आउट भएपछि खेल फेरि खुला बन्यो । सामसन भने अन्त्यसम्म डटेर खेले । उनले ५० बलमा १० चौका र ४ छक्का सहित नटआउट ९७ रन बनाए ।

तिलक वर्मा (२७ रन) ले राम्रो साथ दिए । तर उनी पनि आउट भएपछि भारतलाई अन्तिम ३० बलमा ५० रन आवश्यक थियो । त्यसपछि हार्दिक पाण्ड्या ( १७ रन) र शिवम दुबे (नटआउट ८ रन) ले संयमित खेल खेले । त्यसअघि टस जितेर पहिले फिल्डिङ रोजेको भारतले सुरुआतमा दबाब खेप्यो । वेस्ट इन्डिजका कप्तान साइ होप र रस्टन चेज ( ४० रन)ले आक्रामक ब्याटिङ गरे । हार्दिक र अर्शदीप सिंहलाई चौका–छक्का प्रहार गरिएको थियो ।

तर वरुण चक्रवर्तीले होप (३२ रन) लाई बोल्ड गरेपछि खेलको मोड फेरियो। जसप्रित बुमराहले हेटमायर (२७ रन) लाई आउट गरे भने हार्दिकले रदरफोर्ड (१४ रन) लाई पवेलियन फर्काए । अन्त्यमा रोभम्यान पावेल (३४ रन) र जेसन होल्डर (३७ रन) ले अविजित ७६ रनको साझेदारी गर्दै वेस्ट इन्डिजलाई ४ विकेटमा १ सय ९५ रनको बलियो अवस्थामा पुर्‍याए ।

तर अन्ततः रात सामसनकै नाममा रह्यो। अब भारतले बिहीबार मुम्बईमा इङ्ग्ल्यान्डसँग सेमिफाइनल खेल्नेछ । पहिलो सेमिफाइनल दक्षिण अफ्रिका र न्युजिल्यान्डबीच हुनेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको