गृह मन्त्रालय ले फागुन २१ गते बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। मन्त्रालयले बुधबार ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग भर्चुअल बैठक गरी निर्वाचन सुरक्षासहित सबै व्यवस्थापकीय तयारी सम्पन्न भएको जानकारी दिएको हो।
गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठको अध्यक्षतामा मन्त्रालयका उच्च अधिकारीसहित ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको भर्चुअल बैठकले सबै जिल्लाको निर्वाचन तयारी र सुरक्षा व्यवस्थापनबारे जानकारी लिएको छ । गृह मन्त्रालयमा करिब तीन घण्टा चलेको बैठकमा निर्वाचनको तयारी, सुरक्षा व्यवस्थालगायत विषयमा केन्द्रित रहेर छलफल भएको मन्त्रालयका सह-प्रवक्ता रमा आचार्यले जानकारी दिइन् ।
उनका अनुसार उक्त छलफलमा सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले निर्वाचनको सम्पूर्ण तयारी सम्पन्न भएको र जिल्लाहरूमा सुरक्षा अवस्था सामान्य रहेको जानकारी गराएका छन्।
बैठकमा जिल्लागत निर्वाचन तयारीको अवस्था, हालको सुरक्षा परिस्थिति तथा केन्द्रबाट आवश्यक समन्वयका विषयमा विस्तृत छलफल भएको थियो। शान्ति–सुरक्षाको समग्र स्थिति, मतदानको दिन अपनाउनुपर्ने सतर्कता र सम्भावित सुरक्षा संवेदनशीलताबारे समीक्षा गर्दै आवश्यक रणनीति तय गर्ने समझदारी समेत बनेको जनाइएको छ। गृहसचिव श्रेष्ठले निर्वाचन सुरक्षालाई थप सुदृढ र प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारीहरूलाई आवश्यक निर्देशन दिएका छन्। साथै, सबै जिल्लाबाट कर्मचारी, सुरक्षा संयन्त्र र निर्वाचन सामग्री सुरक्षित रूपमा मतदान केन्द्रमा पुगिसकेको जानकारी बैठकमा प्रस्तुत गरिएको थियो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस