Like us!
Follow us!
Connect us!
Watch us!

खुलामुखी ‘गरिमा सुवर्ण योजना’को इकाई खरिद अवधि चैत १२ सम्म बढाइयो, सर्वसाधारणलाई अझै अवसर

अर्थ संसार

सोमबार, ०२ चैत्र २०८२, ०९ : १० मा प्रकाशित

खुलामुखी ‘गरिमा सुवर्ण योजना’को इकाई खरिद अवधि चैत १२ सम्म बढाइयो, सर्वसाधारणलाई अझै अवसर

गरिमा क्यापिटल लिमिटेडले आफ्नो पहिलो खुलामुखी सामूहिक लगानी योजना ‘गरिमा सुवर्ण योजना’को इकाई खरिदका लागि आवेदन दिने अवधि थप गरेको छ।

क्यापिटलले जारी गरेको सूचनाअनुसार उक्त योजनामा लगानी गर्न चाहने लगानीकर्ताका लागि आवेदन दिने समय चैत १२ गतेसम्म कायम गरिएको छ। यसअघि फागुन २८ गतेदेखि सर्वसाधारणका लागि इकाई बिक्री खुला गरिएको थियो।

‘गरिमा सुवर्ण योजना’को कुल आकार १ अर्ब रुपैयाँ निर्धारण गरिएको छ। यद्यपि प्रारम्भिक चरणमा क्यापिटलले ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाई मात्र सार्वजनिक बिक्रीका लागि उपलब्ध गराएको हो।

जारी गरिएका कुल इकाईमध्ये ९० लाख इकाई कोष प्रवर्धक गरिमा विकास बैंकका लागि सुरक्षित राखिएको छ भने ६० लाख इकाई योजना व्यवस्थापक गरिमा क्यापिटल लिमिटेडलाई छुट्याइएको छ। बाँकी रहेको ३ करोड ५० लाख इकाई भने सर्वसाधारण लगानीकर्ताका लागि सार्वजनिक रूपमा बिक्रीमा ल्याइएको हो। प्रत्येक इकाईको अंकित मूल्य १० रुपैयाँ निर्धारण गरिएको छ।

यो योजना खुलामुखी प्रकृतिको भएकाले प्रारम्भिक निष्काशनपछि बाँकी रहेका इकाईहरू सामूहिक लगानी कोषसम्बन्धी नियमावली अनुसार योजना व्यवस्थापकले तोकेको वितरण प्रणालीमार्फत निरन्तर रूपमा खरिद तथा बिक्रीका लागि खुला रहने क्यापिटलले जनाएको छ।

यस योजनामा लगानी गर्न न्यूनतम १०० इकाईका लागि आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ भने अधिकतम ५० लाख इकाईसम्म आवेदन दिन सकिनेछ।

गरिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यस योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी गरिमा क्यापिटल लिमिटेडले नै सम्हालेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थामार्फत सि–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।

त्यसैगरी, सिडिएस एण्ड क्लियरिङ लिमिटेडद्वारा सञ्चालित ‘मेरो सेयर’ वेब प्लेटफर्म तथा मोबाइल एपमार्फत पनि इकाई खरिदका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको