उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । लघुवित्तको चैत ५ गते बसेको सञ्चालक समितिको बैठकले यही चैत २८ गते शनिबार रुपन्देहीको भैरहवा सि.न.पा–८ स्थित एशियन बुद्ध होटलमा बिहान १० बजे ११ औँ वार्षिक साधारणसभा आह्वान गरेको हो ।
सभाले भविष्यमा वित्तीय संस्थाले अन्य इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय सस्थाहरूलाई गाभ्ने वा संस्थाहरूसंग गाभिने, गाभ्ने÷गाभिने (मर्जर) वा प्राप्ती गर्ने÷प्राप्ती हुन जाने प्रयोजनार्थ उपयुक्त देखिएमा सोसँग सम्बन्धित आवश्यक सम्पूर्ण कारवाही अगाडि बढाउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्नेछ । त्यस्तै संस्थापकतर्फको सेयर स्वामित्व परिवर्तन गरी ५५.५८ प्रतिशत कायम गर्ने तथा सर्वसाधारणतर्फको सेयर स्वामित्व परिवर्तन गरी ४४.४२ प्रतिशत कायम गर्ने गरी वित्तीय संस्थाको प्रवन्धपत्र तथा नियमावली संशोधन गर्ने सम्बन्धी प्रस्ताव र नियमावलीको परिच्छेद ४ को नियम २९ (२) को संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्नेछ ।
वित्तीय संस्थाको प्रबन्धपत्र र नियमावलीमा गरिएको संशोधन स्वीकृतिको क्रममा नियमनकारी निकायबाट कुनै संशोधन, फेरबदल वा परिमार्जनका लागि निर्देशन वा सुझाव भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई वा सञ्चालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रदान गर्नेछ । त्यसैगरी सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन स्वीकृत गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८२ आषाढ मसान्तसम्मको वासलात र आर्थिक वर्ष २०८१/०८२ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत वित्तीय विवरणमा छलफल गरी स्वीकृत गर्नेछ ।
साथै संस्थापक समुहका सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने रिक्त संचालक पदमा १ जना संचालक समितिले गरेको नियुक्तिलाई अनुमोदन गर्ने तथा बाँकी अवधिको लागि निर्वाचित गर्ने र लेखापरीक्षण समितिको सिफारिस बमोजिम चालू आर्थिक वर्ष २०८२/०८३ को लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने तथा पारिश्रमिक निर्धारण गर्नेछ ।
वार्षिक साधारणसभा प्रयोजनका लागि यही चैत १६ गते १ दिन कम्पनीले बूक क्लोज गर्ने निर्णय पनि गरेको छ । सो अनुसार नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा चैत १५ गतेसम्म कारोबार भई कायम सेयरधनी मात्रै सभामा भाग लिन योग्य हुनेछन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस