Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारकाे उतारचढाव, पूँजीगत लाभकर ४७ प्रतिशतले घट्यो

अर्थ संसार

शुक्रबार, ०६ चैत्र २०८२, १६ : ५६ मा प्रकाशित

सेयर बजारकाे उतारचढाव, पूँजीगत लाभकर ४७ प्रतिशतले घट्यो

पछिल्लो सयम सेयर बजारमा उतारचढाव आउँदा त्यसको प्रत्यक्ष असर सरकारको राजस्वमा परेको छ । नेपाली सेयर बजारमा आएको उतारचढाव र कारोबार रकममा देखिएको मन्दीको प्रत्यक्ष असर सरकारको राजस्व संकलनमा परेको हो । 

चालु आर्थिक वर्षको पहिलो ८ महिनाको तथ्यांक अनुसार सेयर कारोबारबाट सरकारले प्राप्त गर्ने पूँजीगत लाभकरमा भारी गिरावट आएको छ । चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा पुँजीगत लाभरकमा ४७.०७ प्रतिशतको गिरावट आएको हो । सीडीएससी एण्ड क्लियरिङ लिमिटेडको तथ्यांक अनुसार, चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्ममा सरकारले कुल ६ अर्ब ४४ करोड ८ लाख रुपैयाँ मात्र पूँजीगत लाभकर संकलन भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा सरकारले १२ अर्ब १६ करोड १६ लाख रुपैयाँ लाभकर उठाएको थियो । 

चालु आर्थिक वर्षको अधिकांश महिनाहरूमा राजस्व संकलन नकारात्मक देखिएको छ । साउन महिनामा ४१.०९ प्रतिशतले घटेको लाभकर संकलन भएको थियो भने भदौमा पुग्दा ७६.६८ प्रतिशतको उच्च गिरावट देखियो । गत आर्थिक वर्षको भदौ महिनामा २ अर्ब ५७ करोड ९४ लाख रुपैयाँ संकलन भएकोमा यस वर्ष मात्र ६० करोड १४ लाखमा सीमित हुन पुग्यो । असोजमा ५८.४१ प्रतिशत र कात्तिकमा ४९.८५ प्रतिशतको गिरावट देखियो । मंसीरमा केही सुधार देखिए तापनि ३९.५४ प्रतिशतले राजस्व घट्यो ।

तर, पुस र माघ महिनामा भने बजारमा केही चमक देखिएको थियो । पुसमा ०.७४ प्रतिशत र माघमा २२.२२ प्रतिशतले लाभकर संकलन बढेको थियो । माघ महिनामा मात्रै सरकारले १ अर्ब २९ करोड १९ लाख रुपैयाँ कर संकलन गर्न सफल भएको थियो । यद्यपि, फागुन महिनामा पुनः गिरावट आएको छ । फागुनमा लाभकर संकलन ५८.५४ प्रतिशतले घटेर ५५ करोड १५ लाख रुपैयाँमा झरेको छ । जबकि गत आर्थिक वर्षको फागुनमा १ अर्ब ३३ करोड २ लाख रुपैयाँ संकलन भएको थियो ।

सेयर बजार यस वर्षको साउन मध्यदेखि निरन्तर ओरालो लागेको देखिन्छ । साउनको दोस्रो साता नेप्से सूचकांक ४ वर्षयताकै उच्च विन्दु ३००२ अंकमा पुगेको थियो । तर, त्यसपछि बजारले लय समात्न सकेन र हाल २८७७ विन्दुको आसपासमा छ । बजार घट्नुमा राजनीतिक र सामाजिक घटनाक्रमले भूमिका खेलेको छ । विशेष गरी भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ पछि बजार एक सातासम्म बन्द गरिएको थियो । यसले लगानीकर्ताको मनोबल कमजोर बनाउँदा भदौको कारोबार र कर संकलनमा ७६ प्रतिशतभन्दा बढीको गिरावट आयो । आन्दोलनपछि सुस्ताएको बजार फागुन २१ गते भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनपछि मात्र केही चलायमान हुन थालेको संकेत मिलेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको