नेपालको बैंकिङ क्षेत्रमा निक्षेप र कर्जा खाता बीच ठूलो खाडल देखिएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार कर्जा र निक्षेप खाता बीचको अन्तरमा निकै ठूलो फरक देखिएको हो ।
केन्द्रीय बैंकको तथ्यांक अनुसार निक्षेपमा आम रुपमा सबैको पहुँच पुगेको भए पनि कर्जामा भने सिमित व्यक्तिको मात्रै पहुँच देखिएको हो । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको ७ महिनासम्ममा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप र कर्जा खाता बीच ५ करोड ९८ लाख १६ हजार २८४ ले फरक देखिएको छ । चालु आर्थिक वर्षको माघ मसान्तसम्मको अवधिमा २० वटा वाणिज्य बैंक, क्षेत्रीय र राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीसहितका ५४ वटा संस्थामा खोलिएको कुल निक्षेप खाता संख्या ६ करोड १८ लाख ५१ हजार २३० पुगेको छ । यो निक्षेप खाताको संख्या कुल कर्जाको खाताको संख्याको तुलनामा पाँच करोड ९८ लाख १६ हजार २८४ ले बढी हो ।
यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरुमा कर्जा खाताको संख्या २० लाख ३४ हजार ९४६ मात्र रहेको छ । गत आवको सोही अवधिमा बैंकिङ क्षेत्रमा कुल निक्षेप खाताको संख्या ५ करोड ८१ लाख ७२ हजार ७०० रहेको थियो । यो संख्या उक्त अवधिमा बैंकिङ क्षेत्रमा रहेको कुल कर्जा खाता संख्याको तुलनामा ५ करोड ६२ लाख ४२ हजार ९०० सातले बढी हो । गत आवको सोही अवधिमा बैंकिङ क्षेत्रमा सञ्चालनमा रहेको कुल कर्जा खाताको संख्या १९ लाख २९ हजार ७९३ मात्र रहेको थियो ।
राष्ट्र बैंकका अनुसार चालू आवको माघ मसान्तसम्ममा वाणिज्य बैंकहरूमा मात्र रहेको कुल निक्षेप खाता संख्या ५ करोड ३० लाख ३९ हजार ५९० रहेको छ । गत आवको सोही अवधिमा वाणिज्य बैंकहरूमा कुल ४ करोड ९८ लाख ६८ हजार ८५६ वटा मात्र निक्षेप खाताहरू सञ्चालनमा रहेका थिए । विकास बैंकहरूमा सञ्चालनमा रहेको कुल निक्षेप खाताको संख्या चालू आवको पछिल्लो ७ महिनाको अवधिमा ७७ लाख ३५ हजार ५० रहेको छ । गत आवका सोही अवधिमा विकास बैंकहरूमा कुल ७३ लाख ६० हजार ३९३ वटा मात्र निक्षेप खाताहरू सञ्चालनमा रहेका थिए । फाइनान्स कम्पनीहरूमा सञ्चालनमा रहेको कुल निक्षेप खाताको संख्या पनि चालू आवको पछिल्लो सात महिनाको अवधिमा १० लाख ७६ हजार ५९० पुगेको छ । गत आवको सोही अवधिमा फाइनान्स कम्पनीहरूमा कुल ९ लाख ४३ हजार ४५१ निक्षेप खाताहरू सञ्चालनमा रहेका थिए ।
राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो ७ महिनाको अवधिमा वाणिज्य बैंकहरूमा मात्र सञ्चालनमा रहेको कुल कर्जा खाताको संख्या १६ लाख ९० हजार ७५१ पुगेको छ । गत आवको सोही अवधिमा वाणिज्य बैंकहरूमा १६ लाख ११ हजार ४५७ वटा कर्जा खाता सञ्चालनमा रहेका थिए । विकास बैंकहरूमा पछिल्लो अवधिमा कुल २ लाख ६७ हजार ७५३ वटा कर्जा खाता सञ्चालनमा रहेका छन् ।
गत आवको सोही अवधिमा विकास बैंकहरूमा कुल २ लाख ७४ हजार २३ वटा कर्जा खाता सञ्चालनमा रहेका थिए । फाइनान्स कम्पनीहरूमा पनि पछिल्लो अवधिमा कुल ७६ हजार ४४२ वटा कर्जा खाता सञ्चालनमा रहेका छन् । गत आवको सोही अवधिमा फाइनान्स कम्पनीहरूमा कुल ४४ हजार ३१३ वटा कर्जा खाता सञ्चालनमा रहेका थिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस