Like us!
Follow us!
Connect us!
Watch us!

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज

अर्थ संसार

विहीबार, १२ चैत्र २०८२, ०६ : ५२ मा प्रकाशित

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ः०० बजे हुने भएको छ । शपथका लागि सबै तयारी पूरा भइसकेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार ज्येष्ठ सदस्य केसीलाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।

प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ समारोह सिंहदरबारस्थित नवनिर्मित बहुउद्देश्यीय हलमा हुनेछ । सङ्घीय संसद् सचिवालयका अनुसार ४७ जनाले नेपालीबाहेक भाषामा शपथ लिने तयारी छ । त्यसमध्ये १७ जनाले मैथिली भाषामा शपथ लिने तयारी छ । नेपालको संविधानको धारा ९९ र ९१ को उपधारा ५ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम पद तथा गोपनीयताको शपथ लिने व्यवस्था छ ।

सङ्घीय संसद् सचिवालयले निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधिसभा सदस्य पदको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र हालसालै खिचिएको पासपोर्ट साइजको तस्बिर दुई प्रतिसहित तोकिएको समयभन्दा दुई घण्टा अगावै उपस्थित हुन आग्रह गरेको छ । सचिवालयले औपचारिक वा आफ्नो सांस्कृतिक पहिचानको पोसाकमा उपस्थितिका लागि यसअघि नै आग्रह गरेको थियो । बहुउद्देश्यीय हलमा आवश्यक सिट, रोष्टम, सभामुख आसन, महासचिव, सचिव, सचिवालय बस्ने ठाउँलगायतको व्यवस्थापन गरिएको छ ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२, नेपाली कांग्रेसले ३८, नेकपा (एमाले)ले २५, नेपाली कम्युनिस्ट पार्टीले १७, श्रम संस्कृति पार्टीेले सात र राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच सिट प्राप्त गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको