सरकारले वैदेशिक रोजगारी प्रक्रियालाई छिटो र सहज बनाउन श्रम स्वीकृतिमा लागू हुँदै आएको टोकन प्रणाली हटाउने निर्णय गरेको छ। अब श्रमिकले आवेदन दिएको दिनमै श्रम स्वीकृति पाउने व्यवस्था गरिनेछ।
यसअघि श्रमिकहरूले टोकन लिएर तोकिएको मितिमा मात्र स्वीकृति लिनुपर्ने झन्झट थियो। आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहको उपस्थितिमा बसेको बैठकले यो निर्णय गरेको मन्त्रालयले जनाएको छ। सरकारले पूर्व–प्रस्थान अभिमुखीकरण तालिमलाई पनि डिजिटल बनाउने योजना अघि सारेको छ। अब तालिमसम्बन्धी श्रव्य–दृश्य सामग्री अनलाइनमार्फत उपलब्ध गराइनेछ र अभिमुखीकरण प्रक्रिया पूर्ण रूपमा अनलाइन प्रणालीमा आधारित बनाइनेछ।
त्यस्तै, योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा सबै श्रमिकलाई आबद्ध गरिने, न्यूनतम ज्यालाको प्रभावकारी कार्यान्वयन गरिने र श्रमिकका अधिकार सुनिश्चित गरिने लक्ष्य राखिएको छ।
श्रमाधान योजनालाई अझ प्रभावकारी बनाउँदै कल सेन्टरलाई व्यवस्थित गर्ने, उद्योगहरूमा जोखिम मूल्याङ्कन गरी कार्यस्थल सुरक्षा र स्वास्थ्य प्रवर्द्धन गर्ने तथा उत्पादन र उद्यमशीलता बढाएर आन्तरिक रोजगारी सिर्जना गर्ने निर्णय पनि गरिएको छ। साथै, थप पाँच देशसँग द्विपक्षीय श्रम सम्झौता विस्तार गर्ने योजना अघि बढाइएको छ। मन्त्रालयले वैदेशिक रोजगारीमा रहेका नेपालीको सुरक्षा, न्यूनतम ज्याला, कार्य वातावरण र स्वास्थ्य अवस्थाको अध्ययन गरी न्यूनतम मापदण्ड तय गर्ने तयारी गरेको छ। यसका साथै, सीप विकास तालिममार्फत रोजगारीमा आबद्ध गराउने, प्रदेशस्तरमा निजी क्षेत्रसँग सहकार्य गरी सीप मेला आयोजना गर्ने र वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न प्रभावकारी कदम चाल्ने योजना पनि अघि सारिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस