जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा तत्कालीन काठमाडौँका प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी स्रोतका अनुसार उनलाई सुविधानगर क्षेत्रबाट नियन्त्रणमा लिइएको हो।
भदौ २३ र २४ गते काठमाडौँमा भएको प्रदर्शनका क्रममा भएको घटनाबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले रिजाललाई दोषी ठहर गर्दै कारबाहीका लागि सिफारिस गरेको थियो। सोही प्रतिवेदन कार्यान्वयन गर्ने सरकारी निर्णयसँगै उनलाई पक्राउ गरिएको हो।
उक्त प्रदर्शनका क्रममा बानेश्वर क्षेत्रमा किशोरहरूको ज्यान जाने गरी गोली चलाइएको घटनाले व्यापक विवाद सिर्जना गरेको थियो। त्यसबेला काठमाडौँका प्रमुख जिल्ला अधिकारी रहेका रिजालमाथि सुरक्षा निकायलाई गोली चलाउन निर्देशन दिएको आरोप लाग्दै आएको थियो।
यद्यपि, आयोगसमक्ष दिएको बयानमा रिजालले आफूले घातक हतियार प्रयोग गर्ने आदेश नदिएको दाबी गरेका थिए। तर, आयोगको निष्कर्षले घटनामा प्रशासनिक नेतृत्वको भूमिका औंल्याउँदै कारबाहीको सिफारिस गरेको थियो।
यसअघि नै उक्त प्रतिवेदनका आधारमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली तथा तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पनि नियन्त्रणमा लिइएको थियो, जसले यो प्रकरणलाई अझै राजनीतिक र कानुनी रूपमा संवेदनशील बनाएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस