अघिल्लो शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र साह नेतृत्वमा करिब दुई तिहाइ बहुमतको सरकार बन्यो । चुनावको नतिजा सार्वजनिक भएसँगै पुँजी बजारमा जुन रुपमा उत्साह थपिएको थियो नयाँ सरकार बने पछि अझ बजारले गति लिने अपेक्षा गरिएको थियो । आम रुपमा गरिएको यस्तो अपेक्षा विपरित नयाँ सरकारलाई सेयर बजारले सकारात्मक स्वागत गर्न सकेन् ।
नयाँ सरकार निर्माण भएपछिको पहिलो कारोबार दिन नै बजारमा ७१ अंकको गिरावट आयो । नयाँ सरकार बनेको र आर्थिक क्षेत्रका विज्ञ स्वर्णीम वाग्ले अर्थमन्त्री बने पछिको पहिलो दिन नै सेयर बजार राताम्य बन्यो । त्यसको अर्को दिन सोमबार पनि बजार ४७ अंकले घट्यो । मंगलबार केही बढेको बजार बुधबार फेरि ७५ अंकले घटेर कारोबार बन्द भयो । यो साताको ३ कारोबार दिन नै बजार १७४ अंकले घटिसकेको छ ।
सरकार बने लगत्तै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएपछि अहिले एमाले सडक आन्दोलनमा छ । यो विषयले पनि सेयर बजारमा असर परेको लगानीकर्ताहरुको भनाइ छ । अझै पनि अस्थिरताको अवस्था आउने डरमा लगानीकर्ता देखिन्छ । सरकारले सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा पूर्वमन्त्री तथा व्यवसायी दीपक खड्कालाई पक्राउ गरिसकेको छ । मंगलबार मात्रै अर्का व्यवसायी दीपक भट्टलाई अध्यागमन विभागले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रपछि व्यावसायीलाई कालोसुचिमा राखेको छ । अर्को तर्फ सरकारले ल्याएको शासकिय सुधारका १०० योजनामा पुँजी बजारका विषयमा केही कुरा उल्लेख नहुनुले पनि बजारमा असर गरेको लगानीकर्ताहरुले बताएका छन् । यति मात्रै होइन उक्त सुधारका १०० योजनामध्ये ४५ नम्बरको बुदाले आम लगानीकर्तामा थप निरुत्साहत गरेको लगानीकर्ताहरुले नै बताएका छन् ।
नेपाल इन्भेष्टर फोरमका अध्यक्ष तुलसिराम ढकालले कोमामा रहेको पुँजी बजार नयाँ सरकार बने पछि हौसिएको र अहिले सम्पत्ति शुद्धिकरणको हाँउगुजिले बजार घटेको बताएका छन् । ‘सेयर बजार २०७८ साल भदौ ८ गतेदेखि कोमामा रहेको र चुनाव पछि बजारमा उत्साह देखिएको भए पनि अहिले सम्पत्ति शुद्धिकरणको त्रासले बजार घट्यो,’ उनले भने । सेयर बजारका लगानीकर्ताहरु सम्पति शुद्धिकरणले गर्दा डराउनु पर्ने अवस्था भने नरहेको उनको भनाइ छ । सेयर बजारमा आउने पैसा बैंकिङ प्रणालीबाट आउने भएकाले डराउन नपर्ने उनी बताउँछन् ।
‘ब्रोकर कम्पनीले सेयर किनबेच गर्दा नगद रकम लिँदैनन् र दिँदैनन् पनि, त्यसैले अवैध रकम सेयर बजारमै भएजस्तो गलत भाष्य बनाउनु जरुरी छैन,’ उनले भने । सेयर लगानीकर्ता समिर जंग खड्काले सम्पत्ति शुद्धिकरणको डरले गर्दा अहिले सेयर बजार घटेको बताएका छन् । नयाँ सरकार बनेसँगै सम्पत्ति शुद्धिकरणको कारबाही तिब्र पारिएको र त्यसको असर सेयर सेयर बजारमा पनि देखिएको उनले बताएका हुन् ।
सरकारले पुँजी बजारका विषयमा स्पष्ट खाका ल्याउन नसकेकाले पनि बजारमा अन्यौलता देखिएको उनी बताउँछन् । ‘सरकारले पुँजी बजारका लागि कस्तो खालको खाका ल्याउँछ भन्नेमा लगानीकर्ता अन्यौलमा परे’ उनले भने । बजारका ठूला लगानीकर्ताको नाम समेत सम्पति शुद्धिकरणमा जोडिएकाले सरकारले स्पष्ट रुपमा कस्तो खालको कारोबारलाई कस्तो कारबाहि गर्ने हो त्यसको पनि खाता प्रस्तुत गर्नु पर्ने उनको भनाइ छ ।
विज्ञ अर्थमन्त्री आए पनि रास्वपाले पुँजी बजारको संम्वेदनशिलता नबुझेको अर्का एक लगानीकर्ताले बताए । अर्का एक लगानीकर्ताले नाम उल्लेख नगर्ने सर्तमा उनले अहिलेको अर्थमन्त्रीबाट लगानीकर्ताले निकै धेरै आश गरे पनि पुँजी बजारको संम्वेदनशिलता नबुझ्दा बजार घटेको आरोप लगाए । स्वर्णिम वाग्लेले उल्टो भूमिका खेलेकाले नै त्यसको प्रभाव पुँजी बजारमा देखिएको उनको भनाइ छ ।
अहिले फेरि सम्पत्ति शुद्धिकरण लगायत र दिपक भट्ट केशले पनि सेयर बजारमा लगानी गर्नेहरुको पनि ट्याक हुन्छ भन्ने कुराले पनि लगानीकर्ताहरु डराएको उनले बताए । ‘यसले गर्दा ठूला लगानीकर्ता पनि ढराए । ठूला ढराए पछि साना पनि डराएर र बजार घट्यो,’ उनले भने ।
के छ शासकीय सुधारका १०० कार्यसूचीको ४५ नम्बर बुँदामा
भ्रष्टाचार नियन्त्रणलाई प्रणालीगत बनाउन नेपाल राष्ट्र बैङ्कले १०० दिनभित्र बैंक खाता, डिजिटल वालेट, शेयर लगानी तथा अन्य वित्तीय गतिविधिहरूलाई समेट्ने समन्वित डिजिटल सम्पत्ति लगत (Integrated Digital Asset Registry) स्थापना गर्ने, सोमा जोखिममा आधारित सङ्केत (Risk-Based Red Flag) प्रणाली लागू गर्ने तथा सन्देहास्पद कारोबारहरूको स्वचालित पहिचान गरी सम्बन्धित निकायमार्फत अनुसन्धान प्रक्रिया अघि बढाउने।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस