पोर्चुगलस्थित नेपाली समुदायका विभिन्न संघ–संस्था र प्रतिनिधिहरूबीच सम्पन्न सर्वपक्षीय बैठकले समुदायबीच सहकार्य, समन्वय र संस्थागत सुदृढीकरणका लागि संयुक्त पहल गर्ने निर्णय गरेको छ । सुजन लामा मोकतानको अध्यक्षतामा बसेको बैठले यस्तो निर्णय गरेको गैरआवासीय नेपाली संघ, पोर्चुगलका सचिव सुरज भण्डारीले जानकारी दिए ।
बैठडकले विभिन्न संघंस्थाका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाइ ज्ञापनसँगै स्वागत समेत गरे। उनले बैठकमा समुदायसँग सम्बन्धित विभिन्न विषयमा छलफल गर्दै साझा उद्देश्य हासिल गर्न आगामी दिनमा संयुक्त रूपमा काम गर्ने सहमति भएको समेत बनाए। बैठकले लिस्बनस्थित नेपाल दूतावाससँग समन्वय गर्दै नेपाली कामदारहरूलाई परेको प्रहरी चारित्रिक प्रमाणपत्रसम्बन्धी समस्यालाई गम्भीर रूपमा उठाउने निर्णय गरेको छ । सो विषयमा पहिलो पटक कागजात पेश गर्ने नेपालीहरूलाई दूतावासबाट जारी हुने डिक्लेरेशन निःशुल्क उपलब्ध गराउन अनुरोध गर्ने सहमति भएको बताइएको छ ।
त्यस्तै, बैठकले गैरआवासीय नेपाली संघ पोर्चुगललाई एकीकृत छाता संगठनका रूपमा सुदृढ बनाउन आवश्यक पहल गर्ने तथा पोर्चुगलमा सक्रिय विभिन्न नेपाली संघ–संस्थाहरूले समन्वयात्मक र रचनात्मक भूमिका निर्वाह गर्ने निर्णय गरेको छ । समुदायबीच आपसी सहकार्य, सहअस्तित्व र साझा उद्देश्यका लागि सबै संस्थाहरूलाई सकारात्मक तथा उत्तरदायी भूमिका खेल्न आह्वान गरिएको छ । साथै विदेशमा नेपाली धर्म, संस्कृति, चाडपर्व तथा परम्परागत रीतिरिवाजहरूको संरक्षण र प्रवद्र्धनका लागि संयुक्त कार्यक्रम सञ्चालन गर्ने सहमति पनि भएको छ । बैठकले विपद्, मृत्युजस्ता आकस्मिक परिस्थितिमा प्रभावित नेपालीहरूलाई नैतिक, आर्थिक तथा सामाजिक सहयोग उपलब्ध गराउन संस्थाहरूबीच समन्वय कायम गर्दै संयुक्त पहल गर्ने निर्णय गरेको छ।
स्थानीय निकाय, सम्बन्धित संस्था तथा अग्रज व्यक्तित्वहरूसँग सहकार्य गर्दै पोर्चुगलस्थित नेपाली समुदायलाई संस्थागत गतिविधिमा समावेशी रूपमा सहभागी गराउने विषय पनि बैठकमा उठाइएको छ । साथै, नेपाल दूतावाससँग संस्थागत सहकार्य सुदृढ गर्दै आवश्यक कार्यहरू संयुक्त रूपमा अघि बढाउने अभियान र उद्देश्य कार्यान्वयनका लागि पोर्चुगलस्थित नेपाली समुदायलाई एकताबद्ध गर्दै सक्रिय सहभागिता सुनिश्चित गर्ने निर्णय गरिएको छ । बैठकले नेपाली समुदायबीच एकता, सहकार्य र संस्थागत मजबुतीका लागि महत्वपूर्ण आधार तयार भएको विश्वास व्यक्त गर्दै उक्त निर्णयहरूमा ऐक्यबद्धता जनाएको समेत उनको भनाइ छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस