अर्थ संसार, काठमाडौँ–चीनसँग जोडिएको तातोपानी भन्सार नाकाको पुनःनिर्माणका लागि चीनले गर्ने सहयोग सम्झौतामा हस्ताक्षर भएको छ ।
नेपालको भूकम्पपछिको पुनःनिर्माणमा चिनियाँ सहयोगअन्तर्गत आज तातोपानी भन्सार नाका, सिन्धुपाल्चोक अस्पताल र सिन्धुपाल्चोककै जिरी माध्यमिक विद्यालयको पुनःनिर्माण सम्झौतामा हस्ताक्षर भएको छ ।
अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा उक्त सम्झौतामा नेपालका तर्फबाट अर्थसचिव शंकरप्रसाद अधिकारी र चीनका तर्फबाट नेपालका लागि चिनियाँ राजदूत यू होङले हस्ताक्षर गर्नुभयो ।
हस्ताक्षरपछि अर्थसचिव अधिकारीले भूकम्पपछिको पुनःनिर्माणमा चीनले गरेको सहयोगको सराहना गर्दै सहयोग निरन्तरताका लागि आग्रह गर्नुभयो ।
चिनियाँ राजदूत यूले हस्ताक्षर भएका सम्झौतामा हुने सहयोगका बारेमा अवगत गराउनुभयो ।
तातोपानी भन्सार नाका पुनःनिर्माणअन्तर्गत भवन मर्मत तथा व्यापार क्षमता अभिवृद्धि गरिनेछ । यो सम्झौताअन्तर्गत पुनःनिर्माणको काम अघि बढेमा एक वर्षभित्रमा तातोपानी व्यापार नाका सञ्चालनमा आउने अपेक्षा गरिएको छ । काठमाडौँदेखि तातोपानी नाकासम्मको अरनिको राजमार्गको मर्मत तथा विस्तार गर्न यसअघि दुवै देशबीच सम्झौता भई काम शुरु भइसकेको छ ।
सिन्धुपाल्चोक अस्पताल पुनःनिर्माणअन्तर्गत अत्यावश्यक स्वास्थ्य उपकरणसहितको ३९ शय्या स्थापना गरिनेछ । त्यस्तै जिरी स्कूलको पुनःनिर्माणअन्तर्गत कक्षाकोठा, पुस्तकालय, शिक्षक कार्यालय, खाजाघर, खेलकूद मैदानलगायत विद्यालय पूर्वाधार निर्माण गरिनेछ ।
गोरखा भूकम्पपछिको पुनःनिर्माणका लागि काठमाडौँमा भएको अन्तर्राष्ट्रिय सम्मेलनमा चीनले झण्डै रु ४८ अर्ब सहयोग गर्ने घोषणा गरेको थियो । उक्त सहयोगअन्तर्गत चीनले नेपालका २५ परियोजनामा सहयोग गर्ने प्रतिबद्धता गरेको थियो ।
जसमध्ये दशरथ रङ्शाला, निजामती अस्पताल, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, आयुर्वेदिक अस्पताल, दरबार हाइस्कूल, वसन्तपुर दरबार, स्याफ्रुबेँसी–रसुवागढी सडक, अरनिको राजमार्गलगायत परियोजना पुनःनिर्माणमा हस्ताक्षर हुनाका साथै केही परियोजनाको काम पनि शुरु भइसकेको सरकारले जनाएको छ । रासस
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस