काभ्रेको पनौतीमा राष्ट्रिय कृषि कम्पनी लिमिटेडले आगामी वैशाख ५ गतेदेखि ‘आर.के.सि.एन.एल फूड बैंक’ सञ्चालनमा ल्याउने भएको छ। बिहीबार आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष विशाल हुमागाईंले स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै प्रविधिमार्फत किसानका उत्पादनलाई सिधै बजारसँग जोड्ने उद्देश्यले यो बैंक स्थापना गर्न लागिएको जानकारी दिएका छन् । किसानले उचित मूल्य नपाउने र बिचौलियाका कारण उपभोक्ताले महँगोमा कृषि उपज किन्नुपर्ने विद्यमान समस्या समाधान गर्न यो पहल सुरु गरिएको हो।
कौशलटारमा मुख्य कार्यालय रहेको यस संस्थाले पनौती–४ मा सहजीकरण कार्यालय स्थापना गरी प्रारम्भिक चरणमा पनौती, बेथानचोक र धुलिखेलका किसानलाई समेट्ने योजना बनाएको छ। हाल ४ हजार किसान आबद्ध भइसकेको यस संस्थाले वि.सं. २०८७ सम्ममा ६० लाख किसानलाई जोड्ने महत्वाकांक्षी लक्ष्य राखेको छ। कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक गौतम र धुलिखेलका कार्यवाहक नगरप्रमुख निराजन जंगमले यसलाई एक नमुना कार्यको रूपमा व्याख्या गर्दै उत्पादन खेर जाने समस्या समाधानका लागि स्थानीय सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए। कृषि साक्षरता, विषादी न्यूनीकरण र व्यवसायिक कृषि प्रणालीलाई प्रवर्द्धन गर्दै किसानको मेहनतको उचित कदर गर्ने यस अभियानको मुख्य रणनीति रहेको छ।
कार्यक्रम संस्थाका अध्यक्ष विशाल हुमागाईंको अध्यक्षतामा सम्पन्न भएको थियो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस