नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आवश्यक रहेको बताएका छन्। उनले निजी क्षेत्रलाई केवल नाफा कमाउने निकायका रूपमा मात्र हेर्ने परम्परागत सोचबाट बाहिर निस्कनुपर्नेमा जोड दिएका हुन्।
कञ्चनपुर उद्योग वाणिज्य सङ्घको ३४औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले निजी क्षेत्रले मुलुकको आर्थिक संरचना, पूर्वाधार विकास र रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान दिँदै आएको स्पष्ट पारे। उनका अनुसार कुल गार्हस्थ उत्पादन (जिडिपी) मा ८० प्रतिशतभन्दा बढी योगदान निजी क्षेत्रकै रहेको छ।
‘कुल गार्हस्थ उत्पादनमा ८० प्रतिशतभन्दा बढी योगदान गर्ने र हरेक पूर्वाधार निर्माणमा योगदान गर्ने निजी क्षेत्र हो’, ढकालले भने, ‘सबैभन्दा बढी रोजगारी सिर्जना पनि निजी क्षेत्रले गरिरहेका छन् ।’ उनले निजी क्षेत्रलाई विकासको प्रमुख साझेदारका रूपमा स्वीकार गर्न सके मात्र मुलुकको आर्थिक समृद्धि सम्भव हुने धारणा व्यक्त गरे। ढकालले राज्य, निजी क्षेत्र र स्थानीय तहबीचको सहकार्य मजबुत भएमा लगानीमैत्री वातावरण बन्ने र त्यसले उत्पादन तथा रोजगारी वृद्धि गर्ने बताए।
सुदूरपश्चिम प्रदेशको विकास सम्भावनाबारे बोल्दै अध्यक्ष ढकालले यस क्षेत्रमा पर्यटन र पूर्वाधार विकासका अपार अवसर रहेको उल्लेख गरे। उनका अनुसार सुदूरपश्चिममा प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको विशाल सम्भावना भए पनि आवश्यक पूर्वाधार र लगानीको अभावका कारण ती सम्भावनाहरू पूर्ण रूपमा उपयोग हुन सकेका छैनन्।
‘यहाँको बडिमालिका, रामारोशन जस्ता धार्मिक तथा पर्यटकीय गन्तव्यहरू छन्’ ढकालले भने, ‘अब यी क्षेत्रहरूमा आवश्यक पर्यटकीय पूर्वाधार निर्माणमा लगानी हुनुपर्छ।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस