राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले आफ्नै पार्टीले आयोजना गरेको सांसद प्रशिक्षण कार्यक्रमको शैली र खर्चमाथि सार्वजनिक रूपमा प्रश्न उठाएकी छन्।
शनिबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै तामाङले सांसदहरूका लागि अभिमुखीकरण वा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न पाँचतारे होटल वा बाहिरी महँगो स्थल नै रोज्नुपर्ने कुनै बाध्यता नरहेको बताएकी हुन्।
उनले सिंहदरबारभित्र पर्याप्त सभाहल उपलब्ध हुँदाहुँदै बाहिरी स्थल प्रयोग गरिएको विषयमा असन्तुष्टि जनाएकी छन्। प्रशिक्षण कार्यक्रमका लागि बाहिर हल प्रयोग गर्दा हुने खर्चको लेखाजोखा कसले गर्ने भन्ने प्रश्न पनि उनले उठाएकी छन्।
तामाङले सांसदहरूको सुरक्षालाई कारण देखाएर बाहिरी स्थल प्रयोग गरिएको भए त्यो तर्क पनि स्वीकार्य नहुने संकेत गरेकी छन्। उनले सुरक्षा आवश्यकताका आधारमा महँगो स्थल प्रयोग गरिएको हो भने सांसदहरूलाई सुरक्षा एक दिनका लागि मात्र आवश्यक पर्ने हो कि भन्ने प्रश्न राखेकी छन्।
सार्वजनिक खर्च कटौती, मितव्ययिता र परिवर्तनको राजनीति गर्ने प्रतिबद्धता दोहोर्याइरहेको अवस्थामा व्यवहारमा भने पुरानै शैली दोहोरिन नहुने उनको भनाइ छ। “हामी आफैँ परिवर्तनको पक्षमा बोलिरहँदा र फजुल खर्च नगर्ने भन्दै प्रतिबद्धता जनाइरहँदा व्यवहारमा उही पुरानै अभ्यास दोहोरियो भने नयाँ र पुरानामा फरक के रह्यो ?” भन्ने आशय उनको अभिव्यक्तिमा देखिन्छ।
रास्वपाले शनिबारदेखि ललितपुरको जावलाखेलमा सांसदहरूका लागि संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण सञ्चालन गरेको छ। ‘सक्षम सांसद, सशक्त संसद्’ नारासहित सुरु भएको उक्त कार्यक्रममा पार्टीका शीर्ष नेता, पदाधिकारी तथा सांसदहरूको सहभागिता रहेको छ।
प्रशिक्षण कार्यक्रम आइतबारसम्म सञ्चालन हुने जनाइएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस