Like us!
Follow us!
Connect us!
Watch us!

सिटी होटलको सेयर लिलामबारे तिलक कोइरालाद्वारा लिखित स्पष्टीकरण

अर्थ संसार

आइतबार, २७ बैशाख २०८३, ०८ : १६ मा प्रकाशित

सिटी होटलको  सेयर लिलामबारे तिलक कोइरालाद्वारा लिखित स्पष्टीकरण

सिटी होटल लिमिटेडको हकप्रद सेयरअन्तर्गत बिक्री नभएको सेयर लिलाममार्फत बिक्री गरिएको विषयमा विभिन्न सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि कम्पनीका सञ्चालक तिलक कोइरालाले आफ्नो धारणा सार्वजनिक गरेका छन्।

उनले आफू सर्वसाधारण सेयरधनीको प्रतिनिधिका रूपमा सञ्चालकमा निर्वाचित भएको र हाल पदबाट राजीनामा दिइसकेको उल्लेख गर्दै हकप्रद सेयर बिक्री तथा लिलाम प्रक्रियामा कुनै गैरकानुनी निर्णय नभएको दाबी गरेका छन्।

कोइरालाका अनुसार कम्पनीको वित्तीय अवस्था कमजोर, बैंक ऋणको भार उच्च तथा सञ्चालन खर्च चुनौतीपूर्ण रहेका कारण होटल व्यवस्थापनलाई सुधार गर्ने उद्देश्यले थप पूँजी संकलन आवश्यक थियो। यही आवश्यकता अनुसार साधारणसभाबाट ८० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरिएको उनले बताएका छन्।

हकप्रद बिक्रीबाट प्राप्त रकम मुख्यतः बैंक ऋण भुक्तानीमा प्रयोग गरिएको र होटलमाथि अझै ठूलो कर्जा दायित्व कायम रहेको उनको भनाइ छ।

उनले संस्थापक, कर्मचारी तथा सर्वसाधारणतर्फ बिक्री नभएको सेयर प्रचलित धितोपत्र नियमअनुसार लिलाम गरिएको स्पष्ट पारेका छन्। हकप्रद बिक्रीपछि बाँकी रहेको सेयर धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिकाअनुसार बिक्री प्रबन्धकमार्फत बोर्डलाई जानकारी गराएर लिलाम गरिएको उनको दाबी छ।

संस्थापकतर्फको सेयर लक-इन अवधिमा रहेको विषयलाई लिएर उठाइएको प्रश्नबारे पनि उनले लिलाम सूचनामै स्पष्ट रूपमा सम्बन्धित जानकारी उल्लेख गरिएको बताएका छन्। लगानीकर्ताले सोही जानकारीका आधारमा आवेदन दिएको भन्दै यसमा कसैलाई भ्रममा राखिएको वा ठगी भएको आरोप तथ्यहीन रहेको उनको जिकिर छ।

सीआईबीमा उजुरी परेको विषयमा सञ्चारमाध्यममा आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै कोइरालाले आवश्यक परे आफू भौतिक रूपमा उपस्थित भएर पनि थप जानकारी दिन तयार रहेको बताएका छन्।

उनले आफूले सञ्चालक रहँदा बैठक भत्ताबाहेक अन्य सुविधा नलिएको, कम्पनी वा लगानीकर्ताको हितविपरीत कुनै गतिविधिमा संलग्न नभएको उल्लेख गरेका छन्। साथै, गलत प्रचारबाजीमार्फत सार्वजनिक रूपमा बदनाम गर्न खोजिएको आरोपसमेत लगाएका छन्।

कोइरालाले जारी गरेको लिखित स्पष्टीकरणको पूर्ण पाठ यसप्रकार रहेको छः

श्री केन्द्रीय अनुसन्धान ब्युरो
नेपाल प्रहरी

सिटी होटलको संस्थापक सेयर लिलाम बिक्री सम्बन्धमा

प्रस्तुत बिषयमा म तिलक कोइराला सिटी होटल लिमिटेडको सर्बसाधारण सेयरधनीको तर्फबाट संचालक भई कार्य गरेको र हाल राजीनामा पत्र बुझाएको संचालकको हैसियतबाट सो होटलको हकप्रदमा नबिकेको सेयर लिलाममार्फत बिक्री गरेको सन्दर्भमा त्यहाँ उजुरी परेको भन्ने समाचारको आधारमा केही कुरा स्पष्ट पार्न यो पत्र लेख्दैछु ।

१. सिटी होटलमा गोल्यान समूह र अन्य संस्थापक सेयरधनीहरुको ९० प्रतिशत संस्थापक हिस्सेदारी रहि १० प्रतिशत साधारण सेयर सर्बसाधारणलाई बिक्री गरिए पश्चात सर्बसाधरण सेयरधनीको रुपमा २०८० साल पुस २० गतेको आठौ साधारणसभाबाट त्यस होटलको संचालक निर्वाचत भएको हुँ । आधार र कारण खोली २०८२ चैत्र २९ गते संचालक पदबाट राजीनामा गरेको पत्र विद्युतीय माध्यमबाट कम्पनीमा बुझाएको हुँ, स्वीकृत भएको जानकारी अहिलेसम्म पाएको छैन । संचालकको पदमा कायम रहँदा साधारणसभाले पारित गरेको बैठक भत्ता सुविधा बाहेक अरु कुनै सुविधा लिएको छैन र कुनै गैरकानूनी काम, कम्पनी र सर्वसाधारण सेयरधनीको हितविपरितको कार्य गरेको पनि छैन ।

२. सीएनएनखबरडटकम मा “…नियम अनुसार प्रारम्भीक चरणको अनुसन्धान गरेर थप अनुसन्धानका लागि सीआईबीले सेबोनलाई पत्र पठाएको सीआईबीका प्रवक्ता एव प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले सीएनएन खबरलाई बताए” भन्ने समाचार अंश र बिजशाला लगायत अनलाईनका समाचार समेतमा ध्यानाकर्षण भई मैले आफुले संचालक समिति बैठकमा सहभागी भई गरेको निर्णय सम्बन्धमा यथार्थ जानकारी गराउन चाहेको हुँ । भौतिक रुपमा उपस्थित भएर कुनै कुरा भन्न परे जहिले पनि तयार नै छु । सीडीएसीबाट लेखिएको पत्रको आधिकारिकता र त्यसको बैधानिकताको जाँच पनि होस् भन्ने माग गरी निम्न बिषय स्पष्ट पार्न चाहन्छुः

३. सर्बसाधारण सेयरधनीको तर्फबाट म होटलको संचालक भएर जाँदा होटलको बित्तीय अवस्था कमजोर रहेको र कर्जाको भार तीन अर्ब ३६ करोड भन्दा बढी रहेको अवस्थामा होटलको आय बृद्धि, खर्च कटौति र संस्थागत सुशासनमा जोड गर्दा कर्जाको ब्याज समेत थेग्न नसक्ने अवस्था विद्यमान थियो । त्यस यता प्रख्यात हायात समूहबाट ब्यवस्थापन भई हायात प्यालेसबाट साजसज्जासहित हायात सेन्ट्रिकमा रुपान्तरण भई होटलमा क्रमबद्ध सुधार आई अहिले राजधानीमा रहेका पाँच तारे होटलहरुको तुलनामा तुलनात्मक प्रगति गर्ने होटलमा दरिएको छ । यद्यपी पर्यटन गतिविधि नबढेसम्म होटल पूर्ण रुपमा खर्च धान्न सक्षम हुन सक्दैन ।

४. होटललाई बैंक कर्जाको भार धेरै रहेको अवस्थामा कम्पनीको ९० प्रतिशत हिस्सेदारी बहन गर्ने गोल्यान समूह र अन्य संस्थापकहरुकै अग्रसरतामा हकप्रदका लागि उनीहरुले नै धेरै रकमको जोहो गर्नुपर्ने अवस्था हुँदाहुँदै बैंकको कर्जा घटाउन र लगानीकर्तालाई छिटो प्रतिफल दिने उद्देश्यले २०८१ पुस २६ गते बसेको नवौ साधारणसभाबाट ८० प्रतिशत हकप्रद सेयर बिक्री गर्ने प्रस्ताब पारित गरी थप पूँजी संकलन गरेर कर्जा तिर्ने योजना अगाडि बढाईएको हो । हकप्रद विक्रीबाट संकलित अधिकांश रकम बैंकको कर्जा तिर्ने प्रयोजनमै खर्च गरिएको अबस्था छ । त्यसो हुँदा पनि होटललाई अझै साढे दुई अर्ब कर्जाको भार बाँकी छ । सेयरधनीले लाभांश पाउन अरु केही समय कुर्नुपर्ने बाध्यता छ ।

५.नेपाल धितोपत्र बोर्डले जारी गरेको धितोपत्र निश्काशन तथा बाँडफाँड निर्देशिका २०७४ को परिच्छेद ३ को नियम १३ (१) ख. को प्रतिबन्धात्मक ब्यवस्थाको दुई बर्षको समय ब्यतित भईसकेपछि ८० प्रतिशत हकप्रद निश्काशन कार्य नेपाल धितोपत्र बोर्डबाट स्र्वीकृति प्राप्त गरी सम्पन्न गरिएको हो ।

६. २०८२ साउन २६ सम्म कायम चुक्ता पूँजी एक अर्ब ६७ करोड ४० लाख रुपैयाँको ८० प्रतिशतले हुन आउने एक अर्ब ३३ करोड ९२ लाख रुपैयाँ बराबरको १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद बिक्रीको लागि कम्पनीबाट सूचना जारी गरिएको हो । हकप्रद जारी गर्नुभन्दा पहिले संस्थापकतर्फ १ करोड ५१ लाख कित्ता र सर्बसाधारणतर्फ कर्मचारीलाई दिईएको सेयर समेत १६ लाख ४० हजार कित्ता कायम थियो ।

७. कम्पनीले हकप्रद बिक्रीको सूचना जारी गर्नुभन्दा पहिले संस्थापक र म लगायतका संचालकहरुबाट हकप्रद वापतको रकम जम्मा गर्न लगाई निजहरुले रकम जम्मा गर्न नसकी बिक्री नभएको संस्थापक, संचालक र कर्मचारीको सेयर संख्याबारे धितोपत्र निश्काशन तथा बाँडफाँड निर्देशिका २०७४ को नियम १५ बमोजिमको प्रक्रिया पुरा गरी बिक्री प्रबन्धक मार्फत नेपाल धितोपत्र बोर्डलाई जानकारी गराएर सेयर लिलाम बिक्री गरिएको हो ।

८. संस्थापकले पैसा नहालेको १९ लाख ८९ लाख ९९९ कित्ता संस्थापक सेयरलाई लक ईनको बहाना बनाई उनीहरुकै नाममा कायम गरी त्यसलाई लिलाममा नल्याउने कुनै पनि तर्क हुनसक्दैन । यसो गरिएको भए धितोपत्र निश्काशन तथा बाँडफाँड निर्देशिका २०७४ को नियम १५ को सिधा उल्लंघन हुनेथियो र सबै संचालक कारबाहीको भागिदार बन्ने थियौं ।

९. सेयर लिलामको सूचनामा संस्थापक र कर्मचारीको सेयर २०८३ जेठ ४ गतेसम्म लक ईनमा रहने भनी स्पष्ट रुपमा खुलाएर आवेदन माग गरिएको र सोही अनुसार संस्थापक, कर्मचारी र सर्बसाधारण सेयरको लिलाम प्रक्रिया, सूचीकरण तथा कारोबार भएकाले यसमा कोही ठगिएको र लक ईनमा रहेको सेयर बिक्री भई प्रचलित कानूनको उल्लंघन भएको भन्ने कुरा स्वतः खण्डित भएको स्पष्ट छ ।

१०. सीडीएससीबाट सिटी होटललाई एउटै मात्र आईजिन प्रदान गरिएको सम्बन्धमा के कसो भएको हो ? सीडीएससीको कुन पदाधिकारीले किन एउटा मात्रै आईजिन दियो भन्ने कुरा म संचालक हुनु भन्दा पहिले नै कार्य सम्पन्न भएको हुनाले र सर्बसाधारणको तर्फबाट पछि प्रतिनिधित्व गरि गएको संचालक हुनाले त्यसमा मेरो जिम्मेवारी र जवाफदेहिता रहने कुरा भएन ।

११. प्रचलित नियम कानून अनुसार कम्पनी र सर्बसाधारण सेयरधनीको हितमा लाग्दालाग्दै पनि अनाबश्यक र गलत प्रचारबाजी गरी सार्वजनिक रुपमा बेईज्जति र बदनाम गर्ने प्रयास भएकाले सबैलाई वास्तविकता जानकारी गराउनु यस पत्रलाई सार्वजनिक पनि गरेको छु ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको