Like us!
Follow us!
Connect us!
Watch us!

ऋणको भारीले थिचिदै पाल्पा सिमेन्ट, नाफाभन्दा ८ गुणाबढी ऋण, आईपीओ जारी पछि पनि भएन सुधार

अर्थ संसार

आइतबार, २७ बैशाख २०८३, १३ : ०१ मा प्रकाशित

ऋणको भारीले थिचिदै पाल्पा सिमेन्ट, नाफाभन्दा ८ गुणाबढी ऋण, आईपीओ जारी पछि पनि भएन सुधार

पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडको वित्तीय अवस्था निकै कमजोर बन्दै गएको देखिएको छ । ‘तानसेन’ ब्रान्डको सिमेन्ट उत्पादन गर्दै आएको आरएमसी समूहअन्तर्गत सञ्चालित कम्पनीको नाफा भन्दा पनि धेरै गुणा बढी ऋण रहेको देखिएको हो । इक्रा नेपालको क्रेटिङ रेटिङ अनुसार पाल्पा सिमेन्टको वित्तीय अवस्था कमजोर हुँदै गएको देखिएको हो । 

भर्खरै सर्वसाधारणलाई आईपीओ निष्कासन गरेर दोस्रो बजारमा सूचीकृत भएको कम्पनीको वास्तविक वित्तीय अवस्था भने बाहिर देखिएभन्दा निकै कमजोर रहेको रहेको पाइएको हो । उद्योग विस्तारसँगै ऋणको भार बढ्दै जाँदा कम्पनीको आम्दानी र नाफाले त्यसलाई धान्न सक्ने अवस्था देखिदैन् । सञ्चालन आम्दानी अर्बौं रुपैयाँमा पुगे पनि त्यसको तुलनामा ऋणको आकार अत्यधिक ठूलो रहदा कम्पनीको वित्तीय आधार कमजोर बन्दै भएको छ । 
कम्पनीको वित्तीय विवरण हेर्दा यसको ऋण संरचना निकै आक्रामक देखिन्छ । आर्थिक वर्ष २०८०/०८१ मा कम्पनीको कुल ऋण यसको मूर्त खुद सम्पत्तिको १.९ गुणा पुगेको थियो । आर्थिक वर्ष २०८१/०८२ मा यो अनुपात केही घटेर १.८ गुणा कायम भए पनि चालु आर्थिक वर्षको पहिलो ६ महिनामा समेत १.७ गुणा ऋण रहेको हो । कम्पनीसँग भएको वास्तविक सम्पत्तिभन्दा ऋणको आकार निकै ठूलो छ । कम्पनीले कमाउने सञ्चालन नाफाको तुलनामा ऋणको भार झन् चिन्ताजनक देखिएको छ । आर्थिक वर्ष २०८०/०८१ मा कुल ऋण सञ्चालन नाफाको ६.६ गुणा थियो । आर्थिक वर्ष २०८१/०८२ मा ६.४ गुणा कायम भएको यो अनुपात चालु आर्थिक वर्षको पहिलो ६ महिनामै बढेर ७.७ गुणा पुगेको छ । कम्पनीले सञ्चालनबाट कमाएको रकमले ऋण तिर्न निकै लामो समय लाग्ने देखिन्छ ।

अर्बौंको कारोबार गर्ने कम्पनीको खुद नाफा भने निकै न्यून देखिएको छ । आर्थिक वर्ष २०७९/०८० मा कम्पनीले जम्मा ३ करोड ९० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । आर्थिक वर्ष २०८०/०८१ मा नाफा बढेर ७ करोड रुपैयाँ पुगे पनि उद्योगको आकार, लगानी र ऋणको तुलनामा यो अत्यन्त कमजोर प्रतिफल हो । आर्थिक वर्ष २०८१/०८२ मा कम्पनीको खुद नाफा ९ करोड ८० लाख रुपैयाँ पुगे पनि त्यो दीर्घकालीन रूपमा वित्तीय मजबुती दिने स्तरको देखिँदैन । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कम्पनीले जम्मा २ करोड ६० लाख रुपैयाँ मात्र खुद नाफा कमाएको छ ।

उद्योगको सञ्चालन आम्दानी पनि अपेक्षित रूपमा विस्तार हुन सकेको छैन । आर्थिक वर्ष २०८०/०८१ मा कम्पनीको सञ्चालन आम्दानी ४ अर्ब २२ करोड ६० लाख रुपैयाँ पुगेको थियो । तर त्यसपछिको आर्थिक वर्ष २०८१/०८२ मा आम्दानी घटेर ४ अर्ब ११ करोड २० लाख रुपैयाँमा सीमित भएको देखिन्छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कम्पनीले १ अर्ब ८९ करोड रुपैयाँ बराबरको सञ्चालन आम्दानी गरेको छ । बजारमा मागको अवस्था कमजोर रहनु, अत्यधिक प्रतिस्पर्धा हुनु र उत्पादन क्षमता पूर्ण रूपमा प्रयोग हुन नसक्नुले आम्दानी वृद्धिमा असर पारेको देखिन्छ ।

सन् २००९ मा स्थापना भएको कम्पनीले सन् २०१९ अप्रिलदेखि क्लिङ्कर उत्पादन र सन् २०२० जनवरीदेखि सिमेन्ट उत्पादन सुरु गरेको थियो । नवलपरासीको सुनवल क्षेत्रमा रहेको उद्योगले पाल्पाको रहवास क्षेत्रमा रहेको चुनढुंगा खानीबाट कच्चा पदार्थ ल्याउँदै आएको छ । कम्पनीको क्लिङ्कर उत्पादन क्षमता वार्षिक ५ लाख ९० हजार मेट्रिक टन र सिमेन्ट उत्पादन क्षमता वार्षिक ७ लाख ३० हजार मेट्रिक टन रहेको छ । उद्योगमा आधुनिक प्रविधिको रूपमा चिनिने भर्टिकल रोलिङ मिल प्रविधि प्रयोग गरिएको भए पनि त्यसले अपेक्षित वित्तीय स्थायित्व दिन सकेको देखिँदैन ।
विशेषगरी उत्पादन क्षमता उपयोग कमजोर रहनु कम्पनीको अर्को प्रमुख समस्या बनेको छ । सिमेन्ट पिसाइ उद्योगको उत्पादन क्षमता पछिल्ला चारदेखि पाँच वर्षसम्म करिब ४५ देखि ५५ प्रतिशत मात्र उपयोग भएको देखिन्छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको