चालु आर्थिक वर्ष २०८२/८३ को १० महिना सकिन लाग्दा सरकारले ११ खर्ब ५३ अर्ब रुपैयाँ बजेट खर्च गरेको छ । सरकारी खर्च आम्दानीको हिसाब राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्षका लागि ल्याइएको १९ खर्ब ६४ अर्ब बजेट मध्ये ५८.७५ प्रतिशत बजेट खर्च भएको हो ।
कुल बजेटमध्ये सरकारले चालु शीर्षकमा ११ खर्ब ८० अर्ब रुपैयाँ छुट्टाएको थियो । त्यसमध्ये ८ खर्ब ९ अर्ब रुपैयाँ बजेट खर्च भएको छ । चालुतर्फ विनियोजित बजेटको ६८.०४ प्रतिशत हो । कार्यालयकाअनुसार विनियोजित बजेटमध्ये सबैभन्दा बढी चालुतर्फको शीर्षकमा बजेट खर्च भएको छ । चालु खर्च भनेको सरकारको दैनिक सञ्चालन र नियमित कार्यहरू का लागि गरिने खर्च हो ।
सरकारले चालु आर्थिक वर्षमा पुँजीगततर्फ ४ खर्ब ७ अर्ब बजेट विनियोजन गरेको थयो । त्यसमध्ये १ खर्ब ९ अर्ब रुपैँया अर्थत् २६.८७ प्रतिशत खर्च भएको कार्यालयले जानकारी दिएको छ । पुँजीगततर्फ सरकारले धेरै खर्च गर्न सकेको छैन । दीर्घकालीन पूर्वाधार निर्माणमा भएको खर्चलाई पुँजीगत खर्चअन्तर्गत समावेश गरिन्छ । मध्यपूर्वको तनावले निर्माण व्यवसायीले बिटुमीन इन्धनको अभाव झेलिरहँदा पुँजीगत खर्चमा त्यसको असर देखिएको बताइएको छ ।
वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७५ अर्ब रुपैँया बजेट छुट्टाएको सरकारले २ खर्ब ४० अर्ब अर्थात ६४.१६ प्रतिशत खर्च गरेको छ । यो शीर्षकको बजेटले सरकारले पहिले लिएका ऋणको सावाँ र ब्याज तिर्ने गरेको छ । सरकारले १४ खर्ब ८० अर्ब राजस्व उठाउने लक्ष्य राखेकेमा ९ खर्ब ७० अर्ब संकलन गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस