अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रका उद्योगी व्यवसायीलाई लक्षित गर्दै सरकारले कुनै धरपकड अभियान सञ्चालन नगरेको स्पष्ट पारेका छन्। निजी क्षेत्रका व्यक्तिहरूलाई पक्राउ गर्ने वा नियन्त्रणमा लिने सूची तयार गरिएको भन्ने चर्चा निराधार रहेको उनको भनाइ छ।
शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले व्यवसायीहरूलाई भ्रमपूर्ण सूचना र बजारमा फैलाइएका हल्लाको पछि नलाग्न आग्रह गरे। उनले सरकार र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै व्यवसायीहरूलाई विकास साझेदारका रूपमा हेर्ने सरकारको नीति रहेको बताए।
उनले निजी क्षेत्रलाई सम्बोधन गर्दै सरकारको दीर्घकालीन आर्थिक लक्ष्य पूरा गर्न व्यवसायीहरूको भूमिका महत्वपूर्ण रहने बताए। मुलुकलाई एक खर्ब डलर बराबरको अर्थतन्त्रतर्फ लैजाने लक्ष्यमा निजी क्षेत्रको सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।
अर्थमन्त्री वाग्लेले सरकारका पाँच प्रमुख प्राथमिकतिसमेत सार्वजनिक गरेका छन्। उनका अनुसार पहिलो प्राथमिकता सुशासन, दोस्रो अर्थतन्त्रको पुनरुत्थान, तेस्रो आन्तरिक तथा बाह्य सम्पर्क विस्तार, चौथो सामाजिक क्षेत्रमा लगानी अभिवृद्धि तथा पाँचौँ पर्यटन, संस्कृति र इतिहासमार्फत मुलुकको प्रभाव विस्तार गर्नु रहेको छ।
उनले मुलुकको अर्थतन्त्र अहिले महत्वपूर्ण मोडमा रहेको उल्लेख गर्दै अबको नीति तथा कार्यक्रम र आगामी बजेटले अर्थतन्त्रलाई नयाँ दिशामा लैजाने विश्वास व्यक्त गरे। त्यसका लागि उद्योगी व्यवसायीलाई केही समय धैर्य गर्न आग्रह गर्दै बजेटमार्फत ठोस सुधारका संकेत आउने दाबी गरे।
अर्थमन्त्रीले छिमेकी मुलुक भारतको उदाहरण दिँदै राजनीतिक स्थायित्व, स्पष्ट आर्थिक नीति र कार्यान्वयनमा इमानदारिता भए आर्थिक रूपान्तरण सम्भव रहेको बताए। नेपाल पनि अब आर्थिक पुनरुत्थानको नयाँ चरणमा प्रवेश गर्नुपर्ने समय आएको उनको भनाइ थियो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस