सञ्चालनमा रहेका ३२ वटा लघुवित्त कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । यी संस्थाहरुले ९ महिनामा समग्रमा ५ अर्ब ३७ करोड रुपैयाँ भन्दा धेरै नाफा आर्जन गर्न सफल भएका हुन् ।
यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ३०.७७ प्रतिशत धेरै हो । गत वर्ष यी संस्थाहरुले ४ अर्ब ११ करोड नाफा कमाएका थिए । खुद ब्याज आम्दानीमा वृद्धि, इम्पेयरमेन्ट चार्जमा आएको कमीका कारण पनि नाफामा केही सुधार देखिएको छ । विश्लेषकहरु कर्जा विस्तार, ब्याज आम्दानीमा सुधार र पुनरुत्थान भएको आर्थिक गतिविधिले गर्दा पनि नाफाका केही सुधार देखिएको बताउँछन् । यद्यपि केही ठूला संस्थामा देखिएको नाफा गिरावटले जोखिम व्यवस्थापनमा चुनौती रहेको संकेत गर्छ ।
सार्वजनिक भएको रिपोर्ट अनुसार सबैभन्दा धेरै नाफा कमाउनेमा छिमेक लघुवित्त रहेको छ । यसले ९ महिनामा ९० करोड ६४ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षको चैतमा कम्पनीले ८५ करोड ३५ लाख नाफा आर्जन गरेको थियो । डिप्रोक्सले ६८ करोड १ लाख, जीवन विकासले ६२ करोड ६९ लाख, साना किसानले ४८ करोड ३२ लाख, ग्रामीण विकासले ३० करोड १५ लाख नाफा कमाएको छ । सबैभन्दा कम मानुषी लघुवित्तले १ करोड ३१ लाख नाफा कमाउन सफल भएको छ ।
यता, केही संस्थाहरुले नाफा गत वर्षको तुलनामा घटेको छ । निर्धन उत्थान लघुवित्तको नाफा ६७.७४ प्रतिशतले घटेको छ भने कालिका लघुवित्त वित्तीय संस्थामा ७८.३६ प्रतिशतको ठूलो गिरावट देखिएको छ । यस्तै केही अन्य संस्थाहरुमा पनि नाफा दबाबमा परेको देखिन्छ । तथ्यांक अनुसार, ग्लोबल आइएमई लघुवित्तले २१ करोड ९५ लाख रुपैया नाफा कमाएको छ । स्वरोजगारले २१ करोड २ लाख, सूर्योदय वोमीले १८ करोड ९३ लाख, आशाले १७ करोड ६२ लाख, निर्धनले १५ करोड ५० लाख, मेरो माइक्रो फाइनान्सले १४ करोड ८५ लाख नाफा आर्जन गरेको छ ।
यता, ९ महिनामा महुलीले १२ करोड २८ लाख, फस्र्ट माइक्रोफाइनान्सले ११ करोड ३७ लाख, एनआइसी एसियाले १० करोड ६९ लाख, आभियानले ९ करोड ८४ लाख, एनएमबि लघुवित्तले ८ करोड ७० लाख, समता घरेलुले ८ करोड २३ लाख, हिमालयनले ८ करोड १० लाख रुपैयाँ नाफा कमाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस