बोटलर्स नेपालका दुई वटै कम्पनीको नाफामा उल्लेख्य सुधार देखिएको छ । वित्तीय विवरण अनुसार (तराई) र बोटलर्स नेपाल (बालाजु) ले चालु आर्थिक वर्ष २०८२÷८३ को तेस्रो त्रैमासिकसम्म दुई वटै कम्पनीको नाफामा उल्लेख्य वृद्धि देखिएको हो ।
बोटलर्स नेपाल (तराई) ले चालु आवको चैत मसान्तसम्म २७ करोड ७० लाख रुपैयाँभन्दा बढी खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको नाफा करिब ८ करोड रुपैयाँमा सीमित थियो । यससँगै कम्पनीको नाफा वृद्धि दर २४३ प्रतिशत पुगेको छ । ९ महिनाको अवधिमा कम्पनीको सञ्चालन आम्दानी पनि उल्लेखनीय रूपमा विस्तार भएको छ । गत वर्षको तुलनामा आम्दानी बढेर ५ अर्ब ५५ करोड रुपैयाँभन्दा माथि पुगेको छ । उत्पादन तथा व्यापार विस्तारका कारण कुल नाफा, अन्य सञ्चालन आम्दानी र सञ्चालन नाफामा समेत सुधार देखिएको कम्पनीको विवरणमा उल्लेख छ ।
समीक्षा अवधिमा कम्पनीको कुल नाफा १ अर्ब ५५ करोड रुपैयाँभन्दा बढी पुगेको छ भने सञ्चालन नाफा झण्डै ४० करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष यही अवधिमा सञ्चालन नाफा २४ करोड रुपैयाँ आसपास रहेको थियो । खर्चतर्फ हेर्दा कम्पनीको कस्ट अफ सेल्स ४ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ । त्यस्तै बिक्री तथा वितरण खर्च, प्रशासनिक खर्च र वित्तीय लागत पनि उल्लेख्य रहेको देखिन्छ ।
१२ करोड १० लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोष ३ अर्ब ६७ करोड रुपैयाँ नाघेको छ । नाफामा भएको तीव्र वृद्धिसँगै प्रतिसेयर आम्दानी ३०५ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ ३ हजार १३८ रुपैयाँ कायम भएको छ । कम्पनीको मूल्य आम्दानी अनुपात ३९ गुणा रहेको छ । यता बोटलर्स नेपाल (बालाजु) ले पनि चालु आवको तेस्रो त्रैमाससम्म अत्यधिक नाफा वृद्धि गरेको छ । कम्पनीले २१ करोड ९९ लाख रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १ हजार २७६ प्रतिशतले बढी हो । गत वर्ष यही अवधिमा कम्पनीले करिब १ करोड ६० लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।
कम्पनीको सञ्चालन आम्दानी पनि बढेर ७ अर्ब ६५ करोड रुपैयाँभन्दा माथि पुगेको छ । अघिल्लो वर्ष यही अवधिमा सञ्चालन आम्दानी ७ अर्ब ७ करोड रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा कम्पनीको कुल नाफा २ अर्ब १३ करोड रुपैयाँभन्दा बढी पुगेको छ भने सञ्चालन नाफा करिब ४० करोड रुपैयाँ कायम भएको छ । अन्य सञ्चालन आम्दानीमा पनि उल्लेख्य सुधार देखिएको छ ।
खर्च संरचनाअनुसार कम्पनीको कस्ट अफ सेल्स ५ अर्ब ५१ करोड रुपैयाँभन्दा बढी पुगेको छ । बिक्री तथा वितरण खर्च १ अर्ब ३१ करोड रुपैयाँ नाघेको छ भने प्रशासनिक तथा सञ्चालन खर्च र वित्तीय लागत पनि उल्लेख्य देखिएको छ । १९ करोड ४८ लाख रुपैयाँभन्दा बढी चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोष ५ अर्ब ८७ करोड रुपैयाँ नाघेको छ । नाफा उक्लिएसँगै प्रतिसेयर आम्दानी १३३ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ ३ हजार २९७ रुपैयाँ कायम भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस