आज बस्ने प्रतिनिधिसभाको बैठकका लागि ६ वटा कार्यसूची तय गरिएको छ। बैठक बिहान ११ बजे सुरु हुनेछ।
पहिलो कार्यसूची अन्तर्गत आर्थिक वर्ष २०८३/०८४ का लागि सरकारले प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गरिनेछ। राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ गते संघीय संसद्को संयुक्त बैठकमा उक्त नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। तर, विपक्षी दलहरूको लगातार अवरोधका कारण यसअघि प्रतिनिधिसभामा यसबारे छलफल हुन सकेको थिएन।
‘प्रधानमन्त्री वालेन्द्र शाहले सम्माननीय राष्ट्रपतिले २०८३ वैशाख २८ गते सोमबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लिखित आ.व. २०८३/०८४ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिनुहुने’ दोस्रो कार्यसूची छ । यद्यपि, प्रधानमन्त्री स्वयं संसद्मा उपस्थित हुने /नहुने भन्नेबारे भने अहिलेसम्म पनि निश्चित भने छैन्। आवश्यकता अनुसार प्रधानमन्त्रीले अन्य मन्त्रीलाई पनि जवाफ दिन पठाउन सक्ने व्यवस्था रहेको छ। बुधबार पनि उनी बैठकमा अनुपस्थित भएका थिए, जसका कारण विपक्षी दलहरूले आपत्ति जनाएका थिए।
तेस्रो कार्यसूचीमा वार्षिक नीति तथा कार्यक्रममाथि दर्ता भएका संशोधन प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गरिनेछ भने चौथो कार्यसूचीमा सभामुखले नीति तथा कार्यक्रमलाई निर्णयार्थ पेश गर्नेछन्।त्यसैगरी, पाँचौँ कार्यसूची अन्तर्गत विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल अघि बढाइनेछ । छैठौं कार्यसूचीमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने विषय रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस