चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनामा नेपालमा ४५ अर्ब रुपियाँभन्दा बढीको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता आएको छ। उद्योग विभागका अनुसार साउनदेखि वैशाखसम्म ७२८ वटा परियोजनामार्फत कुल ४५ अर्ब ३२ करोड १६ लाख लगानी प्रतिबद्धता प्राप्त भएको हो।विभागको तथ्याङ्कअनुसार चैतसम्म ६१५ परियोजनामार्फत ४१ अर्ब ७९ करोड ८५ लाख लगानी प्रतिबद्धता आएको थियो भने वैशाख महिनामा मात्रै थप ११३ परियोजनाबाट तीन अर्ब ५२ करोड ३० लाख रुपियाँ बराबरको प्रतिबद्धता आएको छ।
१० महिनाको अवधिमा सबैभन्दा धेरै लगानी प्रतिबद्धता कृषिमूलक उद्योग क्षेत्रमा आएको देखिएको छ। यो क्षेत्रमा रहेका १६ परियोजनामा २२ अर्ब आठ करोड ८० लाख रुपियाँ लगानी प्रतिबद्धता प्राप्त भएको छ। त्यस्तै पर्यटन क्षेत्रका १८९ परियोजनामा १२ अर्ब ५४ करोड ७० लाख रुपियाँ लगानी प्रतिबद्धता आएको छ। सेवामूलक क्षेत्रका ५५ परियोजनाका लागि चार अर्ब २३ करोड २४ लाख रुपियाँ, उत्पादनमूलक ४२ परियोजनामा दुई अर्ब ७० करोड रुपियाँ तथा पूर्वाधारसम्बन्धी एक परियोजनामा एक अर्ब ६५ करोड रुपियाँ लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ।
सूचना प्रविधि क्षेत्रका ४२१ परियोजनामा एक अर्ब ७४ करोड ३८ लाख लगानी प्रतिबद्धता आएको छ भने ऊर्जामूलक दुई परियोजनामा २३ करोड ४२ लाख रुपियाँ लगानी प्रतिबद्धता प्राप्त भएको छ। सबैभन्दा कम लगानी प्रतिबद्धता खनिजमूलक क्षेत्रमा देखिएको छ, जहाँ दुई परियोजनामा ११ करोड ५० लाख मात्र प्रतिबद्धता आएको छ। यसैबीच, नेपाल राष्ट्र बैङ्कका अनुसार चालु आर्थिक वर्षको पहिलो नौ महिनामा १४ अर्ब ५५ करोड रुपियाँ बराबरको वास्तविक प्रत्यक्ष वैदेशिक लगानी नेपाल भित्रिएको छ। गत वर्षको सोही अवधिमा यस्तो लगानी आठ अर्ब ९४ करोड रहेको थियो। यो आधारमा चालु आवमा पाँच अर्ब रुपियाँभन्दा बढी लगानी वृद्धि भएको देखिन्छ।
यद्यपि, नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता ठूलो परिमाणमा आउने गरे पनि वास्तविक रूपमा भित्रिने लगानी भने अपेक्षाकृत कम रहने गरेको छ। साथै, चालु आवको नौ महिनामा खुद पुँजीगत ट्रान्सफर १४ करोड ५० लाख रुपियाँ रहेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर सात अर्ब ७१ करोड रुपियाँ थियो। यसले गत वर्षको तुलनामा चालु आवमा नेपालबाट पुँजीगत ट्रान्सफर उल्लेख्य रूपमा बढेको संकेत गरेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस