राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा प्रतिनिधिसभा सदस्य रहबर अन्सारीले बाराको कलैयामा भएको पार्टी बैठकमा कुनै ठूलो अप्रिय घटना नभएको बताएका छन्। शनिबार आयोजित बैठकमा सांसदहरूलाई कार्यकर्ताले लखेटेको भन्ने समाचार बाहिरिएपछि उनले त्यसलाई गलत प्रचार भएको दाबी गरेका हुन्।
अन्सारीका अनुसार पार्टीको केन्द्रीय समितिको सर्कुलर अनुसार जिल्ला अधिवेशनका लागि सुझाव संकलन गर्न केन्द्रबाट टोली कलैया पुगेको थियो। बैठकका क्रममा पार्टीबाट कारबाहीमा परेका केही पूर्वनेताहरूले सामान्य विवाद सिर्जना गरेका भए पनि अवस्था तत्काल नियन्त्रणमा आएको उनले बताए।
उनले केही राजनीतिक दल निकट सञ्चारमाध्यमहरूले घटनालाई नियोजित रूपमा ठूलो बनाएर प्रस्तुत गरेको आरोप पनि लगाए। विशेषगरी रास्वपा बाराका पूर्वसंयोजक चन्दन स्वर्णकारमाथि गरिएको कारबाहीलाई लिएर असन्तुष्ट समूहले बैठकमा विरोध जनाएको बताइएको छ। केन्द्रीय अनुशासन आयोगको सिफारिसमा गत वैशाख ३० गते बसेको केन्द्रीय समितिको बैठकले स्वर्णकारको साधारण सदस्यता खारेज गरेको थियो।
सोही विषयलाई लिएर केही कार्यकर्ताले सांसदहरू रहबर अन्सारी, गणेश धिमाल, अरबिन्द साह र चन्दन सिंहप्रति असन्तुष्टि जनाएका थिए। कार्यक्रममा सहभागी सांसदहरूलाई प्रहरीले सुरक्षाका लागि नजिकैको कोठातर्फ लैजाँदै गरेको दृश्यलाई मिडियाले ‘लखेटिएको’ भनेर प्रचार गरेको अन्सारीको भनाइ छ।
उनले अहिले सबै विवाद समाधान भइसकेको र कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको समेत बताएका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस