शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विदेशी विश्वविद्यालयसँग सम्बन्धन प्राप्त कलेजहरूको प्रभावकारी नियमनका लागि नयाँ नियमावली ल्याउने तयारी भइरहेको जानकारी दिएका छन्। आइतबार आयोजित कार्यक्रममा बोल्दै उनले यस्ता कलेजहरूबारे धेरै गुनासो आउने गरेकोले नियमन आवश्यक भएको बताए। मन्त्रालयले नियमावलीको मस्यौदा तयार गरी अर्थ मन्त्रालय र कानुन मन्त्रालयमा पठाइसकेको छ। ती मन्त्रालयबाट राय र स्वीकृति आएपछि नियमावली मन्त्रिपरिषद्मा पेस गरिनेछ। मन्त्री पोखरेलका अनुसार विदेशी विश्वविद्यालयसम्बद्ध कलेजलाई कुन आधारमा सम्बन्धन दिने वा नदिने भन्ने मापदण्ड तथा नियमनको स्पष्ट ढाँचा नियमावलीमा समेटिनेछ। उनले नेपाली विश्वविद्यालय र कलेजहरू नियमनमा रहे पनि विदेशी सम्बन्धन प्राप्त कलेजहरू व्यवस्थित रूपमा नियमन हुन नसकेको उल्लेख गरे। मन्त्रालयले हाल शिक्षा नियमावली, शैक्षिक परामर्श संस्था नियमनसम्बन्धी नियमावली र विदेशी विश्वविद्यालयसम्बद्ध कलेज नियमनसम्बन्धी नियमावली गरी तीन वटा नियमावली एकैसाथ अघि बढाइरहेको छ। शिक्षा ऐन तत्काल संसद्को चालु अधिवेशनमा ल्याउन नसकिने भएपछि नियमावलीमार्फत काम अघि बढाइएको मन्त्रालयले जनाएको छ। मन्त्री पोखरेलले भने, “विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएका कलेजबारे धेरै गुनासो आएका छन्। हामीले मस्यौदा तयार गरी सम्बन्धित मन्त्रालयमा पठाइसकेका छौँ। चाँडै मन्त्रिपरिषद्मा लैजाने तयारीमा छौँ।” उनका अनुसार शिक्षक दरबन्दी मिलानको काम पनि अघि बढिसकेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस