अर्थ संसार, काठमाडौं– खानेपानी तथा सरसफाईमन्त्री विना मगरले दशैंअघि नै काठमाडौंका जनताले मेलम्चीको खानेपानी पिउन पाउने विश्वास दिलाएकी छिन् ।
कम्तिमा पनि दशैंअघि नै मेलम्चीको पानी काठमाडौंका घर–घरमा पुरयाउने स्पिरिटका साथ काम गर्दैछौं, मैले सोही अनुसार मातहतका निकायलाई निर्देशन दिएकी छु– मन्त्री मगरले भनिन् ।
रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै मन्त्री मगरले संविधानको धारा २५ ले नै मौलिक हकअन्र्तगत स्वच्छ खानेपानीको कल्पना गरेकोले खानेपानी जनतासँगै प्रत्यक्ष जोडिएको विषय भएको बताईन् ।
उनले भनिन,‘मेलम्चीको पानी काठमाडौं ल्याउने निर्माण कार्य अवरुद्ध थियो, त्यही भएर म हिजोमात्रै मेलम्ची पुगेर आएँ, मैले आवश्यक निर्देशन दिएसँगै अहिले निर्माण कार्य पूनः सूचारु भएको छ।’
आफूले कडा रुपमा मेलम्चीबाट छिटोभन्दा छिटो काठमाडौं भित्रिने मुख्यद्धार रहेको सुन्दरीजलसम्म पानी ल्याउनेगरि निर्माण कार्यलाई अघि बढाउन निर्देशन समेत दिएको उनको भनाई थियो ।
साक्षात्कारमा बोल्दै उनले २५ दिनभित्रै मेलम्चीको पानी सुन्दरीजलमा (मुख्य र अन्तिम द्धार) ‘ब्रेक–थु्र’ गर्ने विश्वास निर्माण कम्पनीले दिएको पनि स्पष्ट पारिन् ।
‘असार अन्तिमसम्म सुन्दरीजलमा पानी खसाल्ने प्रतिबद्धता आएको छ, मैले त्यही स्पिरिटमा काम गर्न निर्देशन दिएको छु’–उनले भनिन्। मन्त्री मगरले दशैंअघि नै मेलम्चीको पानीलाई स्वागत गर्न काठमाडौंवासीहरुलाई आग्रह समेत गरिन् ।
तराई–मधेशका २२ जिल्लामा खानेपानीमा देखिएको आर्सनिकको समस्या समाधान गर्न तराई–मधेश खानेपानी सुधार कार्यक्रम सञ्चालनमा आएकोले त्यसलाई प्रभावकारी रुपमा अघि बढाउने पनि उनले विश्वास दिलाईन् ।
यस्तै उनले हिमाली क्षेत्रको  सरसफाईमा पनि आफूले विशेष ध्यान दिने प्रतिबद्धता जनाईन्  । काठमाडौं उपत्यका र शहरमा देखिएका पानीको समस्यालाई हल गर्नको लागि चुहावटलाई पनि रोक्ने उनको अठोट थियो ।
उनले भनिन,‘पानीको समान पहुँच पुर्याउँछौं, उपत्यका र देशका विभिन्न शहरमा देखिएका समस्याहरुलाई वैज्ञानिक रुपमा हल गर्नेगरि म कार्यक्रम अघि बढाउँछु।’
त्यस्तै उनले आगामी ०७५ साललाई राष्ट्रिय सरसफाई वर्षको रुपमा घोषणा गरेर काम गर्ने बताईन् । उनले भनिन,‘संविधानको धारा ३० मा पनि सरसफाईको बारेमा उल्लेख गरिएको छ, सोही अनुसार हामी ०७५ साललाई राष्ट्रिय सरसफाई अभियान सञ्चालन गछौँं ।’
केही वर्षभित्र बाग्मती, विष्णुमति र धोबीखोलालाई पर्यटकीय रुपमा विकास गर्नेपनि उनले सुनाईन् । ‘त्यसको लागि प्राकृतिक र कृत्रिम रुपमा पनि पानीको बहाव बढाउँछौं’–उनले भनिन्
मन्त्री मगरले कम्तिमा पनि आफ्नो कार्यकालमा बाग्मतीमा र्याफ्टिङ र स्विमिङ गर्न सक्ने वातावरण बनाउने प्रतिबद्धता जनाईन् । ‘स्वस्थ खानेपानी र सफा वातावरण नागरिकको मौलिक अधिकार हो, त्यसैले यही स्पिरिटमा म काम गर्छु ’–उनले भनिन् ।
 
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस