अर्थ संसार, चितवन– नारायणगढ–मुग्लिन सडकखण्डको निर्माण सम्पन्न गर्ने मिति तीन महिना थपिएको छ ।
विभिन्न समयमा काम गर्न नपाएको भन्दै निर्माण कम्पनीले मिति थप्न माग गर्दै आएका थिए । उनीहरुले एक हजार दिनसम्म मिति थपको माग गरेको भए पनि तीन महिना मात्रै थपिएको हो ।
नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार पहिलो खण्डलाई १० मे, दोस्रो खण्डलाई २० मे र तेस्रो खण्डलाई ३० मे २०१८ सम्मको मिति थपिएको छ ।
सन् २०१५ को अप्रिलमा २४ महिनामा सक्ने गरी ठेक्का दिइएको थियो । त्यसलगत्तै गएको भूकम्प, नाकाबन्दी र दुई वर्षसम्म बर्सात् बढी भएका कारण मिति थप गरिँदै आएको थियो । २०७४ साल शुरु भएयताको दुईपटकको निर्वाचनको समयमा काम गर्न नपाएको, बर्सात्को समय, चाडपर्वको समय र थपिएको काम समेतलाई मिलाएर मिति थप गरिएको खनालले बताउनुभयो ।
यसअघि तेस्रो पटक थपिएको मिति गत फागुन दोस्रो साता सकिएको थियो । स्वीकृतिका लागि विभागमा पठाइएको भए पनि विभागले बुधबार मात्रै मिति थपको स्वीकृति प्रदान गरेको हो ।
परामर्शदाता कम्पनीले गरेको सिफारिसअनुसार मिति थप भएको खनालले बताउनुभयो । हालसम्म उक्त आयोजनाका ८२ प्रतिशत काम भएको छ । आयोजनाका इन्जिनियर खनालका अनुसार ३३।२ किलोमिटरमध्ये २४।५ किलोमिटर सडक कालोपत्र भएको छ ।
राजधानी काठमाडौँ र पोखरा जस्ता ठूला शहरलाई तराईसँग जोड्ने मुख्य मार्गका रुपमा रहेको उक्त खण्डको निर्माण ढिलाइ भएको भन्दै चौतर्फी आलोचना हुँदै आएको छ । रासस
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस