कुशल भुर्तेलको शानदार शतकपछि बलिङमा किफायती प्रदर्शन गर्दा नेपाली पुरुष क्रिकेट टोलीले एसियन गेम्स छनोटमा चीनमाथि फराकिलो जित हासिल गरेको छ । नेपालले दिएको ३१४ रनको विशाल लक्ष्य पछ्याएको चीन १९.२ ओभरमा ९२ रनमा अलआउट भयो । नेपालले २२१ रनको फराकिलो जित निकाल्न सफल भयो ।
चीनका लागि झेङ सेनिजानले सर्वाधिक ३१ रन बनाए । जिआनहो दुले १७ रन तथा तियान सेंकुनले १२ रन बनाए । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका लागि कुशल मल्लले ३ विकेट लिए । सन्दीप लामिछाने र सोमपाल कामीले २–२ तथा नन्दन यादवले १ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा २ विकेट गुमाएर ३१३ रन बनाएको थियो । यो नेपालका लागि दोस्रो सर्वाधिक योगफल समेत हो । यसअघि नेपालले एसियन गेम्समा मंगोलियाविरुद्ध ३१४ रनको योगफल बनाएको थियो ।
कुशल भुर्तेलले आक्रामक ब्याटिङ गर्दै ४३ बलमा १२९ रन बनाए । उनले ५ चौका र १६ छक्का प्रहार गरे । यस्तै कुशल मल्ल ४७ बलमा ८५ रन तथा रोहित पौडेल २१ बलमा ६९ रनमा अविजित रहे । भुर्तेलले खेलको नवौं ओभरमा ६ छक्का समेत प्रहार गरे । उनी यो कीर्तिमान बनाउने नेपालका दोस्रो खेलाडी हुन् भने विश्वकै छैटौं खेलाडी समेत हुन् । चीनका लागि मा कुइनचेन र डेंग जिंकीले १–१ विकेट लिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस