पुँजी बजारमा बीमा क्षेत्रको लगानी करिब साढे ५६ अर्ब पुगेको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अवधिमा ५६ अर्ब ४८ करोड ५८ लाख रुपैयाँ लगानी भएको हो ।
यो रकम जीवन बीमा, निर्जीवन बीमा र पुनर्बीमा कम्पनीहरूले सूचीकृत कम्पनीमा गरेको लगानी हो । यस लगानीमा दीर्घकालीन प्रकृतिको कोष खडा गर्ने जीवन बीमा कम्पनीहरूको हिस्सा सबैभन्दा बढी अर्थात् ८१ प्रतिशतभन्दा माथि रहेको छ । सेयर बजारमा लगानीका हिसाबले अग्रस्थानमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरूले सूचीकृत साधारण सेयरमा कुल ४६ अर्ब ११ करोड ७७ लाख रुपैयाँ लगानी गरेका छन् । जुन समग्र बीमा क्षेत्रको सेयर बजार लगानीको ८१.६४ प्रतिशत हुन आउँछ । जीवन बीमा कम्पनीहरूमध्ये नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एक्लै ६ अर्ब ९६ करोड ३३ लाख रुपैयाँ सूचीकृत सेयरमा लगानी गरेर बजारमा आफ्नो बलियो उपस्थिति देखाएको छ । त्यस्तै हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले समग्र पोर्टफोलियो सहित ठूलो हिस्सा ओगटेको छ । यद्यपि, नेपालमा वैदेशिक शाखाको रूपमा सञ्चालित मेट लाइफको भने सूचीकृत साधारण सेयरमा लगानी शून्य रहेको वित्तीय विवरणले दखाएको छ ।
त्यसैगरी, निर्जीवन बीमा व्यवसाय सञ्चालन गरिरहेका १४ वटा कम्पनीहरूले पनि नेप्सेमा सूचीकृत साधारण सेयरमा ५ अर्ब ४४ करोड ६५ लाख रुपैयाँ लगानी गरेर दोस्रो ठूलो हिस्सा ओगटेका छन् । निर्जीवन बीमा कम्पनीहरूमध्ये सरकारी स्वामित्व समेत रहेको राष्ट्रिय बीमा कम्पनी लिमिटेडको सूचीकृत सेयरमा सबैभन्दा बढी ७९ करोड ४१ लाख रुपैयाँ लगानी छ भने सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ७७ करोड ३६ लाख रुपैयाँ लगानीसहित दोस्रो स्थानमा रहेको छ । यस क्षेत्रका दि ओरिएन्टल इन्स्योरेन्स र नेशनल इन्स्योरेन्स कम्पनीले भने सूचीकृत साधारण शेयरमा कुनै पनि रकम लगानी गरेका छैनन् ।
यता देशमा सञ्चालित दुई पुनर्बीमा कम्पनीहरूले सूचीकृत साधारण सेयरमा कुल ४ अर्ब ९२ करोड १५ लाख रुपैयाँ लगानी गरी बजारमा झण्डै ५ अर्बको हिस्सा ओगटेका छन् । यस क्षेत्रमा नयाँ कम्पनीको रूपमा भित्रिएको हिमालयन रि इन्स्योरेन्सले आक्रामक बजार रणनीतिसहित ४ अर्ब २३ करोड ३ लाख रुपैयाँ सूचीकृत साधारण शेयरमा परिचालन गरेको देखिन्छ भने सरकारी स्वामित्वको नेपाल पुनर्बिमा कम्पनी (नेपाल रि) को सूचीकृत साधारण शेयरमा ६९ करोड १२ लाख रुपैयाँ मात्र लगानी रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस