Like us!
Follow us!
Connect us!
Watch us!

यसपटक मध्यावधिपछि बजेट घट्दैन - अर्थमन्त्री वाग्ले

अर्थ संसार

आइतबार, १७ जेठ २०८३, १६ : ४६ मा प्रकाशित

यसपटक मध्यावधिपछि बजेट घट्दैन - अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारले असाधारण तयारी गरेको बताएका छन्। मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै खर्च गर्ने क्षमता अभिवृद्धि गर्न अन्य मन्त्रालयहरूलाई अभूतपूर्व रूपमा अधिकार सम्पन्न बनाइएको उनको दाबी छ।

बजेट सार्वजनिक गरेपछि अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले बजेटको प्रभावकारिताबारे उठेका प्रश्नहरूको जवाफ दिएका थिए। उनले विगतमा चालु आर्थिक वर्षको चैत मसान्तसम्म भौतिक पूर्वाधारतर्फको खर्च प्रगति २४–२५ प्रतिशतमा सीमित रहने गरेको स्मरण गराउँदै यसपटक त्यसमा सुधार ल्याउने तयारी गरिएको बताए । उनका अनुसार खर्च हुन नसकेको शीर्षकबाट आवश्यक पर्ने क्षेत्रमा बजेट सार्न (रकमान्तर गर्न) विनियोजन विधेयकमै विशेष व्यवस्था गरिएको छ। यसले बजेट कार्यान्वयनलाई थप लचिलो र प्रभावकारी बनाउने अपेक्षा गरिएको उनले बताए।  अर्थमन्त्री वाग्लेले सरकारले प्रस्तुत गरेको २१ खर्ब २४ अर्ब रुपैयाँको बजेट कार्यान्वयनबारे अनावश्यक शंका नगर्न आग्रह गरे। अहिले नै नतिजा खोज्नुभन्दा सरकारलाई केही समय ‘शंकाको सुविधा’ दिनुपर्ने उल्लेख गर्दै उनले आगामी वर्षको वैशाख–जेठमा मात्र खर्चको वास्तविक समीक्षा गर्न उपयुक्त हुने बताए।

विगतका वर्षहरूमा ठूलो आकारको बजेट ल्याएर मध्यावधि समीक्षापछि त्यसलाई घटाउने प्रवृत्ति रहेको उल्लेख गर्दै उनले यसपटक त्यस्तो अवस्था नदोहोरिने स्पष्ट पारे।

अर्थमन्त्री वाग्लेले भने,‘विगतमा पैसा खर्च नभएर थन्किने र अर्कोतर्फ काम हुने ठाउँमा बजेट अभाव हुने समस्या थियो । यसलाई सम्बोधन गर्न हामीले जेठ १६ गतेबाट नै रकमान्तर गर्न सक्ने गरी विनियोजन विधेयकमा व्यवस्था गरेका छौं  । यसले खर्च गर्ने प्रणालीमा ठूलो सुधार गर्छ । अहिले नै २१ खर्ब २४ अर्ब खर्च गर्न सक्छौ कि सक्दौनौं भनेर प्रश्न नगर्नुस्, मलाई अहिले शंकाको सुविधा दिनुस् । अहिलेको प्रणाली र हामीले गरेका सुधारका कारण मध्यावधि समीक्षापछि २१ खर्ब २४ अर्बको बजेटलाई घटाएर १८–१९ खर्बमा झार्नुपर्ने अवस्था आउँदैन । हामी तोकिएको लक्ष्य भेटाउने गरी काम गरिरहेका छौं।'

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको