Like us!
Follow us!
Connect us!
Watch us!

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर शिक्षकमा जागिर, अदालतमा मुद्दा दायर

अर्थ संसार

बुधबार, २४ असार २०८३, १५ : ४३ मा प्रकाशित

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर शिक्षकमा जागिर, अदालतमा मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर शिक्षक जागिर खाएको आरोपमा सिरहाका एक शिक्षकविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

सिरहाको धनगढीमाई नगरपालिकास्थित जनता माध्यमिक विद्यालय ,वेतहा भवानीपुरमा माध्यमिक तह तृतीय श्रेणीमा कार्यरत शिक्षक गुन्जेश्वर मण्डलविरुद्ध आयोगले बुधबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो। मण्डलले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्रकै आधारमा शिक्षक पदमा नियुक्ति लिएको अख्तियारको ठहर छ।

आयोगका अनुसार मण्डलले शिक्षक पदमा नियुक्ति लिँदा भारतस्थित बिहार अन्तरमाध्यमिक शिक्षा परिषद्, पटनाबाट विज्ञान विषयमा उच्च माध्यमिक तह उत्तीर्ण गरेको तथा चौधरी चरण सिंह विश्वविद्यालय, मेरठबाट विज्ञान विषयमा स्नातक तह उत्तीर्ण गरेको भनी झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेका थिए। अनुसन्धानका क्रममा ती दुवै प्रमाणपत्र नक्कली रहेको पुष्टि भएको आयोगले जनाएको छ।

नक्कली प्रमाणपत्रका आधारमा माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदमा नियुक्ति लिई ओहदा, तलब तथा अन्य लाभ र सुविधा प्राप्त गरेको देखिएकाले मण्डलविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजायको माग गर्दै आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको