Like us!
Follow us!
Connect us!
Watch us!

विद्यालयमा झन्डै १ करोड भ्रष्टाचार - प्रअ र लेखापालविरुद्ध अख्तियारले दर्ता गर्यो मुद्दा

अर्थ संसार

मंगलबार, १५ बैशाख २०८३, १६ : ५९ मा प्रकाशित

विद्यालयमा झन्डै १ करोड भ्रष्टाचार - प्रअ र लेखापालविरुद्ध अख्तियारले दर्ता गर्यो मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको दमक नगरपालिका–२ स्थित श्री हिमालय माध्यमिक विद्यालयका प्रधानाध्यापक र लेखापालविरुद्ध ९३ लाख भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आयोगका अनुसार विद्यालयका प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्यले विद्यालय भवन निर्माणका क्रममा झुट्टा बिल भर्पाई तयार गरी सरकारी रकम हिनामिना गरेका हुन्। भवन निर्माणको प्राविधिक मूल्यांकनभन्दा ५९ लाख २६ हजार ६ सय ८६ रुपैयाँ बढी भुक्तानी लिएको देखिएको आयोगले जनाएको छ।

दमक नगरपालिकामार्फत् आर्थिक वर्ष २०७७/७८ देखि भएको भवन निर्माणमा पहिलो तलाको वास्तविक मूल्यांकन १ करोड ४८ लाख ५३ हजार २३५ रूपैयाँ रहेकोमा नक्कली बिल, बिजक र भरपाइ बनाएर २ करोड ७ लाख ७९ हजार ९२२ रूपैयाँ भुक्तानी गरेको अख्तियारले जनाएको छ । भवन निर्माणमा ५९ लाख २६ हजार ६८६ रूपैयाँ बढी भुक्तानी दिएर सरकारी रकम हिनामिना गरेको अख्तियारको दाबी छ । त्यस्तै दुईजनाको मिलेमतोमा २०७७/०७८ देखिकै बेरुजु रकम १६ लाख ६० हजार १०१ रूपैयाँ व्यक्तिगत प्रयोग गरेको १७ लाख ९६ हजार ५२१ रूपैयाँ पनि थप हिनामिना गरेको अख्तियारले जनाएको छ।

दुवै प्रतिवादीबाट कुल ९३ लाख ८३ हजार ३ सय ९ रुपैयाँ ७२ पैसा बिगो दाबी गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद सजाय तथा जरिवाना गरी हिनामिना भएको रकम असुलउपर गर्न मागदाबीसहित अख्तियारले मुद्दा दायर गरेको हो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको