अर्थ संसार, काठमाडौं – खानेपानी मन्त्री बिना मगरले मेलम्ची खानेपानी विकास आयोजनाको कार्यप्रगतिबारे दैनिक चासो राख्न थालेपछि सुरुङ निर्माणको कामले तीब्रता पाएको छ ।
खानेपानी मन्त्री भएर आउँदा सुरुङ निर्माणको १ सय ४४ मिटर खण्ड खन्न बाँकी रहेको पाइएपछि मन्त्री मगरले दैनिक ‘फ्लोअप’ गर्दै यथाशीघ्र कार्यसम्पन्न गर्न निर्देशन दिनुभएको आयोजना प्रमुख रामप्रसाद देवकोटाले बताउनुभयो ।
‘मन्त्री ज्यूको निर्देशनपछि दैनिक ८–१० मिटर सुरुङ खन्ने काम सम्पन्न भइरहेको छ,’ प्रमुख देवकोटाले भन्नुभयो ।
आयोजना अन्तर्गत ग्याल्थुम र सिन्धु गरी २ ठाउँबाट सुरुङ निर्माणको काम हुँदैछ । मन्त्री मगरको निर्देशनपछि सुरुङ निर्माणको काम तीब्र गतिमा भइरहेको छ । विगत ३ दिनमा ३९ मिटर सुरुङ खन्ने काम गरिएको देवकोटाले बताउनुभयो । ‘मन्त्री ज्यूबाट दैनिक ताकेता हुने गरेको छ,’ उहाँले भन्नुभयो ।
मन्त्री मगरले मेलम्ची आयोजनालाई पहिलो प्राथमिकतामा राखेर यथाशीघ्र काठमाडौंमा पानी पु¥याउने बताउनुभएको थियो ।
सुरुङ निर्माणकर्ता कम्पनी सीएमसी निर्माण कम्पनीका आयोजना व्यवस्थापक ज्योसेपे डी जर्जियो सुरुङ खन्ने काम नसकिँदासम्म कार्यस्थलमै रहने गरी आयोजना कार्यस्थलमा पुग्नुभएको प्रमुख देवकोटाले बताउनुभयो । ‘सुरुङ ‘ब्रेक थ्रु’ नभएसम्म उहाँकै निगरानीमा तीब्रगतिमा काम हुन्छ,’ उहाँले भन्नुभयो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस