सामाजिक सञ्जालमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई गाली गरेको आरोपमा पक्राउ परेका पाँचथरका एक युवक पुर्पक्षका लागि जेल चलान भएका छन्। फेसबुक, टिकटक, इन्स्टाग्रामसहितका सामाजिक सञ्जालमा प्रधानमन्त्री शाह र उनको परिवारलाई लक्षित गरेर अपमानजनक र अमर्यादित सामग्री पोस्ट गरेको आरोपमा पक्राउ परेका युट्युबर रोशन पोखरेल जेल चलान भएका हुन्।
पोखरेलविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्दा दर्ता भएको थियो। न्यायाधीश कुमार मास्केको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको जिल्ला अदालत पाँचथरले जानकारी दिएको छ।
प्रहरीले पोखरेललाई २०८२ चैत २६ गते पक्राउ गरेको थियो । युट्युबमा गालीगलौजयुक्त सामग्री प्रसारण गरेको आरोपमा पक्राउ परेपछि देशभर विरोध भएको थियो । त्यसपछि चर्को आलोचनाका बीच प्रहरीले चैत २९ गते उनलाई परिवारको जिम्मा लगाएको थियो । जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दायर गरेपछि अदालतले उनलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो ।
अभियोगपत्रमा प्रधानमन्त्री शाह तथा उनको परिवारको मान, सम्मान र प्रतिष्ठामा आँच पुग्ने गरी अपमानजनक तथा अमर्यादित शब्द प्रयोग गरिएको भिडियो, स्टाटस र अन्य सामग्री युट्युब, फेसबुक, इन्स्टाग्राम तथा टिकटकमार्फत प्रसारण गरेको आरोप उल्लेख गरिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस