श्रम संस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्रीले दिएको विवादित अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेका छन् । उनले लामो समय बितिसक्दा पनि आफ्नो माग सम्बोधन नभएको भन्दै सरकारको आलोचना गरे ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले भने, ‘प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेको यत्रो समय भयो । तर ढुंगा बोल्ला, मान्छे बोल्दैन भनेजस्तै भएको छ ।’
सांसद राईले काठमाडौं महानगरपालिकाको हुँदा मेयर बालेन शाहले विगतमा सिंहदरबार जलाउने धम्की दिएको प्रसंग कोट्याउँदै, त्यसबेला प्रधानमन्त्रीले फेसबुकमार्फत दिएको अभिव्यक्तिलाई गम्भीर रूपमा लिनुपर्ने बताएका छन्। यदि प्रधानमन्त्रीको उक्त अभिव्यक्ति नियतवश नभई गल्तीवश आएको हो भने उनले सदनमा आएर फिर्ता लिनुपर्ने राईको माग छ।
यसैगरी, वर्तमान सरकारले गरिब र श्रमिकको पक्षमा काम गर्ने दाबी गरे पनि व्यवहारमा पठाओ राइडर, सुकुम्वासी, साना उद्यमी र श्रमिकलाई दबाब दिने काम गरिरहेको आरोप उनले लगाए। करिब दुई दशकदेखि कार्यरत हजारौं करार तथा ज्यालादारी कर्मचारीलाई ठेकेदारमार्फत व्यवस्थापन गर्न लागिएको भन्दै उनले आपत्ति जनाए। राईले सर्वोच्च अदालतको आदेशअनुसार ती कर्मचारीलाई महँगी भत्ता र सामाजिक सुरक्षा कोष लगायतका सुविधाहरू तत्काल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण समेत गराए।
उनले भने,‘गरिबमाथि सरकारले धारे हात लगाएर निमोठ्न सुरु गरेको छ । सरकारले यस्तो काम नगर्न आग्रह गर्छु । सर्वोच्च अदालतको आदेश कार्यान्वयन गरी कर्मचारीको सेवा सुविधा सुनिश्चित गर्न सरकारलाई आग्रह गर्दछु ।'
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस