नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष डा. गोपालप्रसाद भट्टले चाँडै सेयर बजारमा 'सर्ट सेलिङ' प्रणाली भित्र्याउन लागिएको बताएका छन्। बुधवार अर्थ समितिको बैठकमा बोल्दै उनले बजार सधैं बढिरहनुपर्छ भन्ने एकतर्फी मानसिकताका कारण गिरावट आउँदा नियामक निकायमाथि अनावश्यक दबाब दिने गरिएको गुनासो पोखे।
धितोपत्र बोर्डको वास्तविक भूमिका बजारको दिशा तोक्नु नभई निष्पक्ष र नियमनकारी वातावरण तयार गर्नु मात्र भएको प्रष्ट्याउँदै उनले यो नयाँ व्यवस्थापछि बजार घट्दा आन्दोलनमा उत्रिने प्रवृत्ति रोकिने दाबी गरे। यस प्रणाली अन्तर्गत बजार घट्ने अनुमान गर्ने लगानीकर्ताले सेयर सापटी लिएर बिक्री गर्ने र मूल्य घटेपछि पुनः खरिद गरी फिर्ता गर्दा हुने मूल्यको अन्तरबाट नाफा कमाउन सक्नेछन्।
यसले लगानीकर्ताहरूलाई बजारको उतारचढाव दुवै अवस्थामा आफ्नै विवेक र विश्लेषणका आधारमा निर्णय लिन सक्षम बनाउने उनको विश्वास छ।
उनले भने, ‘अहिले हाम्रो बजारको नेचर के छ भने बजार घट्यो भने सबै चिन्तित हुन्छन्, बजार बढ्यो भने सबै खुसी हुन्छन् । बजार जहिले पनि बढिरहनु पर्छ भन्ने मान्यता छ । संसारको कुनै पनि इन्डेक्सहरू बढेको बढ्यै गर्नेवाला छैनन् । तर नेपालमा ५ हजारमा पुगेर पनि यदि घट्यो भने धितोपत्र बोर्ड घेराउ नै हुनेवाला छ । अब हामीले बजार जताततै जाओस् तर इन्भेस्टरहरूले रिटर्न लिने मेकानिजम बनाउँदैछौँ । त्यो भनेको बजार तल गयो भने पनि रिटर्न आउँछ, बजार माथि गयो भने पनि रिटर्न आउँछ ।’
अध्यक्ष भट्टले बजारमा फैलिने अफवाह नियन्त्रण गर्न आवश्यक नीतिगत व्यवस्था ल्याउन लागिएको पनि जानकारी दिए । सम्पत्ति छानबिन, निरीक्षण तथा वित्तीय अपराध नियन्त्रणसम्बन्धी विषयमा धितोपत्र बोर्डले सम्बन्धित सरकारी निकायसँग समन्वय गरेर काम गर्ने उनले बताए । उनले नेपालको पुँजीबजार सुधारको लागि बोर्डले हालै ‘नेपालको पुँजी बजार विकास मार्गचित्र, २०८३’ र आगामी आर्थिक वर्षको नीति सार्वजनिक गरिएको समेत जानकारी दिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस