लामो समयदेखि नेतृत्वविहीन रहेको नेपाल धितोपत्र बोर्ड (सेबोन) ले अन्ततः नयाँ सारथि पाएको छ। मन्त्रिपरिषदको बैठकले नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. गोपाल प्रसाद भट्टलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो । नेपालको वित्तीय र पुँजी बजार क्षेत्रमा गहिरो दख्खल राख्ने डा. भट्टको आगमनलाई बजारले निकै चासोका साथ हेरेको छ।
विज्ञ नेतृत्व र गहिरो अध्ययन
नवनियुक्त अध्यक्ष डा. भट्ट केवल प्रशासक मात्र नभई पुँजी बजारका ज्ञाता समेत हुन्। उनले त्रिभुवन विश्वविद्यालयबाट 'स्टक मार्केट एफिसिएन्सी इन नेपाल' (नेपालको सेयर बजारको कार्यक्षमता) विषयमा विद्यावारीधि (PhD) गरेका छन् । राष्ट्र बैंकमा ३० वर्ष भन्दा लामो समय सेवा गरेर आर्थिक अनुसन्धान र बैंक सुपरिवेक्षण जस्ता महत्वपूर्ण विभाग सम्हालेको अनुभव उनीसँग छ । पुँजी बजारकै विषयमा गहिरो प्राज्ञिक र व्यावहारिक अनुभव भएको व्यक्ति नेतृत्वमा आउनु आफैमा सकारात्मक पक्ष मानिएको छ ।
प्रणाली सुधारमा जोड: 'बजार उचाल्ने होइन, सिस्टम बसाल्ने'
डा. भट्ट बजारलाई कृत्रिम रूपमा उचाल्ने भन्दा पनि बलियो प्रणाली (सिस्टम) बसाल्नुपर्छ भन्ने मान्यता राख्छन्। उनले विगतमा व्यक्त गरेका धारणाहरूले सेबोनमा उनको भावी कार्यदिशा कस्तो होला भन्ने संकेत गर्छ। उनको स्पष्ट धारणा छ कि मौद्रिक नीतिको उद्देश्य लगानीकर्ता रिझाउने नभएर मूल्य र बाह्य क्षेत्रको स्थिरता कायम गर्नु हो । केही सीमित लगानीकर्ताले राष्ट्र बैंकको नीतिलाई मात्र बजारको बाधक मान्ने न्यारेटिभ गलत रहेको उनको तर्क छ ।
बैंकको निक्षेप र सेयर कर्जा: नयाँ मोडको अपेक्षा
डा. भट्टको सबैभन्दा चर्चामा रहेको धारणा सेयर धितो कर्जा (मार्जिन ल्यान्डिङ) सम्बन्धी हो। उनले बैंकहरूबाट सेयर कर्जा दिने व्यवस्था पूर्ण रूपमा हटाउनुपर्ने र यो ब्रोकर मार्फत मात्र प्रवाह हुनुपर्ने वकालत गर्दै आएका छन् "पब्लिकको निक्षेप लिएर सेयरहोल्डरले जथाभावी डुबायो भने बैंक नै डुब्ने खतरा रहन्छ," उनले विगतमा भनेका थिए । अन्तर्राष्ट्रिय अभ्यास अनुसार सेयर कर्जाको नियमन धितोपत्र बोर्डले नै गर्नुपर्ने र यसको सम्पूर्ण जिम्मेवारी ब्रोकरलाई सुम्पिनुपर्ने उनको स्पष्ट भिजन छ ।
बजार घट्दा पनि कमाउने मेकानिजम र 'सर्ट सेलिङ'
नेपाली बजारमा केवल 'बुलिस' ट्रेन्डमा मात्र रमाउने प्रवृत्ति छ। तर डा. भट्ट बजार घट्दा पनि लगानीकर्ताले कमाउन सक्ने वा सुरक्षित हुने अन्तर्राष्ट्रिय उपकरणहरू भित्र्याउनुपर्ने पक्षमा छन् । उनले 'सर्ट सेलिङ' जस्ता प्रावधानहरूलाई नेपालमा पनि परिचय गराउनुपर्ने आवश्यकता औंल्याएका छन्, जसले गर्दा बजारमा सधैँ हरियाली मात्र खोज्ने र सूचकलाई जबरजस्ती बढाउन खोज्ने 'कार्टेलिङ' अन्त्य हुन सकोस्।
मुख्य चुनौतीहरू
हिजो राष्ट्र बैंकको पृष्ठभूमिमा रहेर बैंकको पैसा सेयर बजारमा आउनु हुँदैन भन्ने डा. भट्ट आज आफै सेबोनको कमान्डर बनेका छन्। अब उनका पुराना सुधारात्मक विचारहरूलाई व्यवहारमा उतार्नु नै उनको सबैभन्दा ठूलो परीक्षा हुनेछ । बैंकमाथिको निर्भरता हटाएर ब्रोकर मार्फत मार्जिन ट्रेडिङ सुरक्षित रूपमा सञ्चालन गराउने र सीमित 'टाठाबाठा' खेलाडीको कब्जाबाट बजारलाई मुक्त गराएर आम लगानीकर्ताको हित रक्षा गर्नु नै उनको मुख्य कार्यभार हुने देखिन्छ ।
डा. भट्टको यो स्पष्ट भिजन र विज्ञताले नेपाली पुँजी बजारले आगामी दिनमा एउटा परिपक्क र नयाँ दिशा लिने अपेक्षा गरिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस