Like us!
Follow us!
Connect us!
Watch us!

शिशाका पाइपको अपत्यारिलो कारोबार

मंगलबार, २८ मंसिर २०७३, ११ : ३४ मा प्रकाशित

शिशाका पाइपको अपत्यारिलो कारोबार

लीलानाथ घिमिरे
कुमालेले माटोबाट बनाएको चिलिममा सुर्तीको धुवाँ तानेको तपाईंले देख्नु भएको छ ? कुनै समय गाउँघरमा यस्ता दृष्य प्रसस्तै देखिन्थे । कंकड पनि भनिने त्यस्तो स्मोकिङ पाइपको ठाउँ अहिले शिशाबाट बनाइएका पाइपले लिँदैछन् भन्दा तपार्इंलाई पत्यार नलाग्न सक्छ । यसको कारोबारको आंकडा तपाईंले अंकमा सुन्नु भयो भने जिब्रो टोक्नु हुनेछ । 

पछिल्लो समय सुर्तीको धुवाँ तान्न बनाइएका शिशाका पाइपको बजार बढ्दो छ । मुलुकमा झण्डै ९० वटाको हाराहारीमा शिशाको स्मोकिङ पाइप उत्पादन गर्ने उद्योग खुलेका छन् । अनौपचारिक तथ्यांकअनुसार हरेक बर्ष ३ अर्बभन्दा बढीको पाइप निर्यात हुने गरेको छ । त्यस्ता उद्योगमा कम्तीमा १ हजार जनाले रोजगारी पाएका छन् ।

नेपालमा कसरी सुरु भयो स्मोकिङ पाइपको उत्पादन ? कथा जस्तै लाग्ने यसको इतिहास नेपालमा भित्रिएको एक दशक मात्र भएको छ । नेपालमा त्यतिखेर उद्योग सुरु गर्नेमध्येका एक मधुकर पाण्डेले केही अनुभव हामीलाईं बाँडेका छन् ।
पाण्डेका अनुसार त्यतिखेर एक जना गोरा ठमेलमा आएर बसेका थिए । उनले नेपालबाट केही कामदार लगेर भारतमा स्मोकिङ पाइप उत्पादन गर्ने उद्योग चलाएका थिए । तिनै कामदारले सीप सिकेपछि नेपालमा यस्ता पाइप उत्पादन गर्ने प्रविधि भित्र्याए । 

त्यतिखेर कच्चा पदार्थको अभाव थियो । ‘भारतबाट बसको हुटमा राखेर कच्चा पदार्थ ल्याउनु पथ्र्यो । यसका लागि चाहिने अक्सिजन ग्यांस, एलपीजी ग्यांसको अभाव थियो, उनले सुनाए, ‘संघर्ष गरेरै उनीहरुले उद्योग चलाएका थिए । 
स्मोकिङ पाइप उद्योग संचालन गर्ने आफू पाँचौं उद्योगी भएको पाण्डे बताउँछन् । उनी त्यतिखेर हल्लिएरै हिँड्थे । उनका फुपुका छोराले उस्तो उद्योग खोल्न उनका बुबालाई भने ।

हल्लिएर हिँडेको छोरालाई काममा लगाउन पाउने अबसर उहाँले छाड्ने कुरा भएन । ‘काम केकस्तो हो थाहै थिएन,’ उनले भने, ‘शिशाको टुक्रो बनाएको छ । किन्ने मान्छे को हो ? पत्तै थिएन ।’ उनलाई काम लगाउने मान्छेले जति उत्पादन गरे पनि किनिदिन्छु भनेका थिए । त्यतिखेर उद्योगमा ५ लाख लगानी गरेपछि उत्पादन बजारमा पु¥याउन सकिने आँकलन गरिएको थियो । 

हरेक महिना उत्पादन बजार पुर्याएर पुँजी उद्योग चलाउने योजना थियो । तीन महिनासम्म विक्री नभएपछि लागत २८ लाख रुपैयाँ नाघ्यो । कामदारलाई तलव दिनै नसक्ने स्थिति आएको थियो । उनले गुगल गरेर विदेशमा क्रेता खोज्न थाले । सेम्पल पठाउन थाले । त्यसपछि अर्डर ह्वात्तै वढ्यो । उनको प्रगति देखेर अरु उद्योग खुल्न थाले । त्यसपछि पाण्डे शिशाका पाइप उत्पादन गर्ने उद्योगका लागि कच्चा पदार्थको कारोबारमा लागे । त्यतिबेला उद्योगको संख्या बढेर झण्डै डेड सय पुगेको पाण्डे सुनाउँछन् ।
कसरी बन्छ ?
शिशाका पाइप उत्पादन गर्ने उद्योग जनशक्तिमा आधारित हो । यसमा कालिगढले शिशालाई आगोले तताउँदै आकार दिन्छन् । त्यसमा रंगले बुट्टा भरेर आकर्षक बनाइन्छ । अक्सिजन र एलपीजी ग्याँस मिसाएर आगोलाई बालिन्छ । आगोले बोरोसिल ट्युवलाई पगाल्छ । कतिपय पाइपमा पानी राख्ने बब्लर, च्याम्बरलगायतका ठाउँ हुन्छन् । पानीले धुवाँलाई फिल्टर गर्न सघाउँछ । केही पाइपमा चाँदी, सुनसमेत मिसाइने पाण्डे बताउँछन् । ‘सुनचाँदीले निकोटिनको मात्रा सोस्छ,’ उनले भने ।

कच्चा पदार्थ के चाहिन्छ ?

यसको कच्चा पदार्थ मुख्यतः बोरोसिल ट्युब हो । त्यसपछि यस उद्योगमा ठूलो परिमाणमा एलपीजी र अख्सिजन ग्याँस चाहिन्छ । एलपीजी आफैं बल्छ । अक्सिजनले आगो बाल्न मद्दत गर्छ । त्यसबाहेक शिशा मेल्ट गरेर बनाइएको रंग, बर्नर, पंखालगायतका सामग्री यसका लागि आवश्यक पर्छ । यसका अधिकांश कच्चा पदार्थ चिनबाट ल्याइन्छ । केही सामग्री भारतबाट समेत आउँछ । ठूलो परिमाणमा उत्पादन उद्योग आफैंले कच्चा पदार्थ मगाउँछन् । बजारमा कच्चा पदार्थ उत्पादन गराउने ब्यापारी पनि प्रसस्तै छन् । करिव ३ दर्जन उद्योगी मिलेर ग्याँस उद्योग आफैं स्थापना गरेका छन् ।  

पाइपको मुख्य बजार

यसको मुख्य बजार अमेरिका हो । उत्पादनको ९० प्रतिशत पाइप अमेरिका जान्छ । यसबाहेक युरोप, जापानलगायतका मुलुकमा समेत पठाउने उद्योगी छन् । अमेरिका पठाउँदा भने उद्योगीले सजावटका सामग्री भनेर पठाउने गरेका छन् । त्यहाँ यसको कारोबार प्रसस्तै हुने भए पनि आयातको प्रक्रिया झण्झटिलो भएकाले बस्तुको नाम अर्कै राख्नु परेको उद्योगीको भनाइ छ । 

जनशक्ति

यी उद्योगले जनशक्ति अभाव झेलिरहेका छन् । मुलुकबाट अधिकांश युवा जनशक्ति पलायन भइरहेका बेला यस्ता उद्योगले कामदार नपाएर उत्पादन बढाउन नसकेको उद्योगी दीपेन्द्र भट्टले बताए । केही मजदुुरले हेल्परका रुपमा कामगर्दा गर्दै कला सिकेर कालिगढ बनेका छन् । 

‘यस उद्योगमा जनशक्तिको समस्या ठूलो छ,’ झण्डै एक दशकदेखि उद्योग चलाइरहेका गोर्खा आर्ट एन्ड क्राफ्ट एक्स्पोर्टका निर्देशक दीपेन्द्र भट्टले भने, ‘कालिगढलाई अग्रिम अढाइ-तीन लाख पेस्की नदिइ कामै गर्दैनन् ।  पेस्की लिएर भागे भने समाउने ठाउँ हुँदैन ।’कलिगढलाई पाउ मोलेर काम लगाउनु पर्ने उद्योगीको भनाइ छ । यस्तो उद्योगमा काम गर्ने कालिगढले मासिक ५० हजार रुपैयाँसम्म कमाउने भट्ट बताउँछन् । यस उद्योगमा १ हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएको अर्का उद्योगी नवराज पाण्डेको दावी छ । अधिकांश उद्योगमा भारतीय कामदारहरु छन् ।  

बार्षिक ३ अर्बभन्दा बढीको कारोबार

शिशाको पाइप उत्पादन गर्ने मुलुकमा अहिले १ सयको हाराहारीमा उद्योग छन् । तीनले सालाखाला बार्षिक ३ करोडको कारोबार गर्ने उद्योगी पाण्डेको भनाइ छ । यस हिसावले शिशाको पाइपको मात्रै ३ अर्बको कारोबार हुने गरेको छ । हस्तकलाको करिव ७ अर्बको बजारमा स्मोकिङ पाइपको मात्रै यति ठूलो अंकमा कारोबार हुनु उत्साहजनक हो । ‘बार्षिक ५ करोडसम्मको कारोबार गर्ने उद्योगी छन्,’ पाण्डेले भने, ‘कम्तीमा १० जना कामदार राखेर उद्योग संचालन गर्नेले पनि १ करोडभन्दा बढीकै कारोबार गर्छन् ।’ शिशाका पाइप उत्पादन गर्ने उद्योगमा प्रत्यक्ष, अप्रत्यक्ष रोजगार पाउने र लगानीकर्तासमेत गरी ५ हजारभन्दा बढी आसृत छन् ।  

निर्यात प्रक्रिया

उत्पादित सामग्रीको निर्यात प्रक्रिाय भने कर्पोरेट कल्चरमा छैन । माग गर्ने पार्टीलाई ब्यक्तिगत सम्बन्धका आधारमा पठाउनु परेको उद्योगीको भनाइ छ । ब्यक्तिगत सम्पर्कमा रहेका क्रेतालाई उद्योगीले ह्वाट्स एप, भाइबर, फेसबुक, इमेललगायतका माध्यम प्रयोग गरेर उत्पादनको फोटो पठाउँछन् । त्यसैका आधारमा उतावाट उनीहरुले अर्डर गर्छन् । अर्डर अनुसार कुरियर गरेर स्मोकिङ पाइप सम्बन्धित ठाउँमा पठाइन्छ । पहिले फेडेक्सले मात्र लैजाने गरेको थियो । अहिले डिएचएल, आरामेक्सलगायतका कुरियर सर्भिसले पनि लैजान्छन् । उताको पार्टीले बिक्री गरेपछि भुक्तानी पठाउँछ । 

उद्योगका समस्या

सरकारले शिशाका उद्योगलाई सहयोग नगरेको उद्योगीको गुनासो छ । घरेलु उद्योग विकास समितिले हस्तकला उद्योग स्थापना गर्दा नगरपालिकाभित्र शिशाका सामान उत्पादन गर्न नपाउने भनेर अनुमतिपत्र दिने गरेको उद्योगीको भनाइ छ । सरकारलाई ठूलो परिमाणमा शिशाका स्मोकिङ पाइप उत्पादन भइरहेको, यसले ठूलो मात्रामा विदेशी मुद्रा आर्जन गरिहरेको छ भन्ने थाहा छ । तैपनि उसले यस्ता उद्योगलाई स्मोकिङ पाइप उत्पादक भनेर पहिचान नदिएको उद्योगीले गुनासो गरे । ‘सरकारले स्मोकिङ पाइप उत्पादक भनेर अनुमति दिनुपर्छ । त्यसो भए हामीले औपचारिक रुपमै अग्रिम भुक्तानी लिएर सामान पठाउन सक्छौं । त्यस्तो भए हाम्रो लगानी सुरक्षित हुन्छ ।’

अहिले उद्योगीले आफ्नो उद्योगका नाममा नभइ अरु कुनै कम्पनीका नामबाट सामान पठाउने गरेका छन् । औपचारिक माध्यमबाट कारोबार नहुँदा राज्यले करसमेत नपाइरहेको उद्योगीको भनाइ छ । ‘ठूलो मात्रामा विदेशी मुद्रा आर्जन गरिरहेको उद्योगलाई पहिचान दिएर सरल रुपमा निर्यात गर्ने ब्यवस्था मिलाई दिए उद्योग फस्टाउने थिए,’ एक उद्योगीले भने । झण्डै ३ अर्बको कारोबार गर्ने, प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा ५ हजार जनाभन्दा बढी ब्यक्ति संलग्न रहेको उद्योगलाई राज्यले संरक्षण गर्नु आवश्यक देखिन्छ । 

एमपिसी विजनेश टाइम्स

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको