सुनसरीको कप्तानगञ्जमा भएको झडपमा एक युवकको मृत्यु भएको घटनालाई लिएर बिहीबारको प्रतिनिधि सभा बैठकमा सांसदहरूले सरकार र प्रधानमन्त्रीको कार्यशैलीको कडा आलोचना गर्दै प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग गरेका छन्।
बैठकमा नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले प्रहरीको गोलीबाट युवक ओमप्रकाश मेहताको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गर्दै निष्पक्ष छानबिनको माग गरिन्। नागरिकको ज्यान जाँदा सरकार उदासीन बनेको र यसले राज्यप्रतिको भरोसा कमजोर बनाएको बताउँदै उनले सामाजिक एकता कायम गर्न अपिल गरिन्। त्यसैगरी, नेकपा (एमाले) की संसदीय दलकी उपनेता पद्मा अर्यालले शान्ति सुरक्षा कायम गर्न सरकार पूर्ण रूपमा असफल भएको आरोप लगाइन् ।
दङ्गा दमनबाट होइन संवादबाट समाधान हुनुपर्ने बताउँदै उनले विगतमा राजीनामा माग्नेहरू नै अहिले सत्तामा बसेर मौन बसेको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा मागिन्।
नेपाल कम्युनिस्ट पार्टीका सांसद गोपाल शर्माले कप्तानगञ्ज घटनाको आधिकारिक जानकारी प्रधानमन्त्रीले संसद्लाई दिनुपर्ने माग गरे। साथै, उनले गृहमन्त्रीको धम्कीपूर्ण अभिव्यक्तिको चर्को विरोध गर्दै सरकारको गैरजिम्मेवारपनप्रति आक्रोश पोखे। श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राईले देशमा हिंसा र असुरक्षा बढ्दा पनि सरकार अन्धकारमा बसेर सबै ठीक छ भनिरहेको आरोप लगाए। सरकारले सुरक्षा दिन नसके हात उठाएर हिँड्नुपर्ने तर जनतालाई टुहुरो बनाउन नपाउने उनको भनाइ थियो।
यस्तै,राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले धार्मिक असहिष्णुता र बाह्य लगानीको धर्मान्तरणले राष्ट्रिय सुरक्षामा चुनौती थपेको बताउँदै घटनाको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्न माग गरिन्। बोलबम यात्राका क्रममा भएको घटनामा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति अपरिपक्व रहेको उनको टिप्पणी थियो।
नेपाली कांग्रेसकी सांसद रेखाकुमारी यादवले नागरिकको ज्यान जानु लोकतान्त्रिक सरकारका लागि सामान्य विषय हुन नहुने बताउँदै प्रधानमन्त्री फेसबुकमा समवेदना लेखेर मात्र जिम्मेवारीबाट पन्छिन नमिल्ने स्पष्ट पारिन्। घटनाको नैतिक जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्ने उनले बताइन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस