अर्थ संसार, रत्ननगर, चितवन–चितवनको नारायणगढ मुग्लिन सडकखण्ड चौडा पार्ने काम अन्तिमतिर पुगे पनि साँघुरा पुलका कारण यात्रुलाई सास्ती उस्तै छ ।
पुलमा दुईतर्फी गाडी हिँड्न नसक्दा सडक जाम अझै रोकिएको छैन । अपराह्न ४ बजेपछि यहाँ सवारी खुल्दा यात्रुलाई घण्टाँै जाममा बस्नुपर्ने बाध्यता छ । यसरी जाम पर्दा माथिबाट ढुंगा खसेर ज्यानै जाने खतरा रहेको एक यात्रु रमेश नेपालले बताउनुभयो ।
“सडक निर्माण भएको स्थानमा समस्या छैन, नेपालले भन्नुभयो, पुलको मुखमा दुई वटा गाडी नछिर्दा हिजोआज पनि अण्टौंँ जामको पीडा छ ।” सडक र पुलसँगसँगै नबनाउँनाले समस्या परेको उहाँ बताउनुहुन्छ । नारायणगढ मुग्लिन सडकको करीब ३४ किलोमिटर क्षेत्रमा सडक चौडा पार्ने काम अहिले जारी छ । उक्त सडकमा १८ वटा पुल पर्छन् ।
त्यसमध्ये साना लगानीको खानीपुल, मौरीपुल, दासढुंगापुल र जलवीरे पुल नारायणगढ मुग्लिन सडक निर्माण आयोजनाले नै बनाउन थालेको छ । बाँकी १४ स्थानमा पुल निर्माण हुन सकेको छैन । नारायणगढ मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनाल अप्ठेरा पुल निर्माण हुन नसक्दा सडक जामको समस्या भने रहेको प्रतिक्रिया दिनुहुन्छ ।
“बाटो ११ मिटरको छ, पुल साढे पाँच मिटरको छ, खनालले भन्नुभयो, त्यस्ता पुलमा दुईवटा गाडी जानै मान्दैनन् ।” मुख्यगरी मुग्लिनदेखि जलविरेसम्मको सात किलोमिटर अझै सास्ती छ । सडक निर्माणको काम पनि सो क्षेत्रमा बाँकी नै छ ।
मुग्लिनबाट आउँदाको चार वटा पुल साँघुरा छन् । त्यसमध्य ३ नम्बर पुल भने अति जोखिमपूर्ण र साँघुरो छ । त्यही पुलमा बढी जाम हुँदा तीन÷चार किलोमिटर परसम्मै गाडी रोकिन्छन् । सबै पुल निर्माण नहुँदासम्म भने यात्रुले सास्ती पाउने पक्का छ । एक त साँघुरो पुलले जाम पर्नुपर्ने र अर्को माथिबाट खस्ने पहिरोको उत्तिकै जोखिम हुँदा यात्रु दोहोरो जोखिममा परेको एकजना यात्रु सूर्य अधिकारी बताउनुहुन्छ ।
नारायणगढ मुग्लिन सडक आयोजनाका अनुसार सडक निर्माणको काम भने करीब ८८ प्रतिशत सम्पन्न भएको छ । करीब ३४ किलोमिटरमध्ये २८.२ किलोमिटर कालोपत्रे भइसकेको नारायणगढ मुग्लिन सडक आयोजनाका इञ्जिनियर खनाल बताउनुहुन्छ । उहाँले आगामी वैशाख १५ सम्ममा सबै सक्ने गरी काम भइरहेको बताउनुभयो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस