अर्थ संसार, मेलम्ची– बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङको ‘ब्रेक थु्र’ भएको छ ।
आज एक कार्यक्रमबीच उपराष्ट्रपति नन्दबहादुर पुनले ‘ब्रेक थु्र’ भएको घोषणा गर्नुभएको हो । सिन्धु अडिटबाट ग्याल्थुमसम्मको ७.४ किमी सुरुङखण्डको मध्यभागमा ब्रेक थु्र भएको हो ।
ब्रेक थु्र भएको औपचारिक घोषणा कार्यक्रममा खानेपानी तथा सरसफाइ मन्त्री बिना मगर पनि उपस्थिति हुनुहुन्थ्यो ।
उक्त कार्यक्रममा उपराष्ट्रपति पुनले राजधानीवासीलाई हिमालको काखमा रहेको स्वच्छ खानेपानी दशैँअघि नै उपलब्ध गराउने बताउनुभयो ।
मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले सिन्धु अडिटदेखि ग्याल्थुमसम्मको सुरुङ जोड्ने काम सम्पन्न भएको र योजना सम्झौताअनुरुप काम अगाडि बढेमा अबको चार महिनाभित्र आउँदो भदौसम्ममा सुन्दरीजलमा पानी खसाल्ने बताउनुभयो ।
देवकोटाका अनुसार २७.५ किलोमिटरको सुरुङमध्येको काठमाडौँको सुन्दरीजलदेखि पानीको मुहान सिन्धुपाल्चोक जिल्लाको अम्बाथानसम्म जम्मा चार किलोमिटर सुरुङको मात्र ‘फिनिसिङ’ सम्पन्न भएको र अझै २३.५ किलोमिटर ‘फिनिसिङ’ गर्न बाँकी रहेको छ ।
सुरुङ छिचोलिएर मात्रै काठमाडौँमा पानी जाने होइन सुरुङभित्रको ढलान प्लास्टरलगायतका अन्य फिनिसिङका कार्य गर्न बाँकी रहेको छ र यसले केही समय लिन्छ ।
सुरुङमा पानी पठाउन मुख्य प्रवेशद्वार अम्बाथानमा निर्माण गर्नुपर्ने हेडबक्सको कार्य अझै बाँकी रहेको बताइएको छ ।
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस