Like us!
Follow us!
Connect us!
Watch us!

खराब कर्मचारी र सुरक्षाकर्मीलाई कडा कारवाही गरिने

विहीबार, २९ चैत्र २०७४, १७ : ४५ मा प्रकाशित

खराब कर्मचारी र सुरक्षाकर्मीलाई कडा कारवाही गरिने

अर्थ संसार, काठमाडौँ–गृहमन्त्री रामबहादुर थापाले जिल्लामा प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले खेल्ने भूमिकाको आधारमा समग्र गृह मन्त्रालयको मूल्यांकन हुने भएकाले सोहीअनुरुप इमान्दार भएर काम गर्न उनीहरुलाई निर्देशन दिनुभएको छ ।

यहाँ आज ‘नेपाल प्रशासन सेवाका पदाधिकारीका लागि कानून र न्यायसम्बन्धी तीनमहिने सेवाकालीन तालीम’को समापन गर्दै उहाँले भन्नुभयो, “जिल्लामा प्रजिअ र प्रहरी प्रमुखले खेल्ने भूमिकाले गृह मन्त्रालयको ऐना वा पहिचानको काम गर्छ ।

त्यसैले तपाईंहरुले जिम्मेवारपूर्ण ढंगले काम गर्नुहोस् ।” विभिन्न जिल्लाका प्रजिअ र गृह मन्त्रालयका अधिकारी सम्मिलित तालीमका सहभागीलाई सम्बोधन गर्दै गृहमन्त्रीले भन्नुभयो, “प्रजिअ र प्रहरी प्रमुखले अपराधीलाई नियन्त्रण नगरी उनीहरुसँग मिलेर काम गरे भने गृह प्रशासनको पनि त्यही रुपमा चित्र जनतामाझ प्रस्तुत हुन्छ । यसतर्फ तपाईंहरु सचेत हुनुहोस् ।”

गृहमन्त्री थापाले खराब काम गर्ने कर्मचारी र सुरक्षाकर्मीलाई कडा कारवाही गरिने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो, “तपाईंहरुले जनतालाई न्याय दिने कि जनतामाथि अन्याय गर्ने वा अन्याय गर्नेहरुको पक्षमा उभिने गरी काम गर्ने रु यसको जवाफ स्थानीय प्रशासक र स्थानीय सुरक्षाकर्मीले दिनुपर्ने हुन्छ । हामीले ठीक ढंगले काम गरेको जवाफ दिनसक्नुपर्छ ।”

राजनीतिक परिवर्तनसँगै प्रहरी ऐन, सार्वजनिक सुरक्षालगायत ऐन परिमार्जनको अन्तिम चरणमा रहेको जानकारी उहाँले दिनुभयो । कार्यक्रममा गृहसचिव प्रेमकुमार राई र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव राजीव गौतमले तालीमले व्यावसायिक, स्वतन्त्रतापूर्व र तटस्थ रुपमा न्याय सम्पादन गर्न सहयोगी भूमिका खेल्ने आशा व्यक्त गर्नुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको