अर्थ संसार, बाबियाचौर, म्याग्दी– मध्यपहाडी लोकमार्गको विकल्प मानिएको म्याग्दीको सदरमुकाम बेनीदेखि ढोरपाटन जोड्ने दरवाङ–बिम–ताकम–मुना–लुलाङ–जलजला सडकको १८ किलोमिटर ट्रयाक खुलेको छ ।
सडक डिभिजन कार्यालय, बागलुङले एक दशकअघि ट्रयाक खुलेको २४ किलोमिटर दूरीको बेनी–दरवाङ सडक कालोपत्रेको काम शुरु गरेको छ भने जिल्ला समन्वय समितिले कृषि सडक आयोजनाअन्तर्गत दरवाङदेखि बिम—ताकम हुँदै मुनासम्मको ट्रयाक निर्माण भएको छ ।
विसं २०६७ मा दरवाङबाट शुरु भएको सडकको ट्रयाक निर्माणको काम बिम–ताकम हुँदै मुनासम्म पुर्याइएको आयोजनाका प्राविधिक कृष्ण रायले बताउनुभयो । उहाँका अनुसार थप सात किलोमिटर विस्तार गरेपछि लुलाङ हुँदै ढोरपाटनको सिमाना जलजला पुग्नेछ । आठ वर्षको अवधिमा रु चार करोड ७५ लाख लगानी भएको छ ।
जिल्ला समन्वय समितिले यस वर्ष विनियोजन गरेको रु ७२ लाख र गत वर्षको रु ६० लाख बजेटबाट मालिका गाउँपालिका–७ बिमको सिमानामा रहेको धौलागिरि गाउँपालिका–७ बगरदेखि ताकमसम्म पाँच किलोमिटर सडकको ट्रयाक खोल्ने काम सकिएको उपभोक्ता समितिका अध्यक्ष खुमनाथ सुवेदीले बताउनुभयो ।
ताकमदेखि मुना र दरवाङदेखि साउँबोटसम्मको ट्रयाक खोल्ने काम यसअघिनै सकिएको धौलागिरि गाउँपालिका–७ का वडाध्यक्ष कलानिधि सुवेदीले बताउनुभयो । जिल्ला समन्वय समितिले शिवरात्रीखोलासम्म पु¥याएको सडकलाई धौलागिरि गाउँपालिकाले यस वर्ष विनियोजन गरेको रु २५ लाख बजेटबाट शिवरात्रीखोलाको पहाड फुटाउने काम सम्पन्न भएपछि दरवाङदेखि साउँबोटसम्म सिधा सवारी सञ्चालन हुन थालेको छ ।
शिवरात्रीखोलादेखि साउँबोटसम्म अपर म्याग्दी जलविद्युत् आयोजनाले तीन किलोमिटर सडक निर्माण गरेको छ । जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्र केसीले शिवरात्रीखोला तथा साउँबोट र बगरको सिमानामा पर्ने म्याग्दी नदीमा मोटरेबल पुल निर्माण गरेपछि बेनीदेखि मुनासम्म सिधा सडक सञ्जालमा जोडिने बताउनुभयो ।
हाल दरवाङदेखि धारापानी, ताकम हुँदै मुना जोड्ने सडक प्रयोगमा छ । धौलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले पश्चिम म्याग्दीको आर्थिक, सामाजिक र भौतिक विकासमा महत्वपूर्ण सम्भावना बोकेको सडकलाई ढोरपाटनसम्म जोडेर मध्य पहाडी लोकमार्गको विकल्प बनाउने लक्ष्य रहेको बताउनुभयो ।
बागलुङ बजारदेखि बुर्तिवाङ हुँदै ढोरपाटन जोड्ने सडक मध्य यो सडक करीब ५० किलोमिटर कम दूरीको हुने उपाध्यक्ष छन्त्यालले बताउनुभयो । शिवरात्रीखोला र म्याग्दी खोलामा पक्की मोटरेबल पुल निर्माण गर्न प्राथमिकता दिइएको उपाध्यक्ष छन्त्यालले बताउनुभयो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस