अर्थ संसार, काठमाडौँ – वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले विश्वव्यापी जलवायु परिवर्तनको असरबाट अतिप्रभावित मुलुकका नाताले नेपालले त्यसको क्षतिपूर्ति दाबी गर्ने बताउनुभएको छ ।
सिंहदरबारस्थित मन्त्रालयमा मन्त्री बस्नेतसँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रिचर्ड मोरिसले गर्नुभएको शिष्टचार भेटमा उहाँले जलवायु परिवर्तनमा नेपालको कुल योगदान ०.०२७ प्रतिशत भए पनि प्रभावित मुलुकको अग्रपङ्क्तिमा नाम आउनु विडम्बनापूर्ण हो भन्नुभयो ।
सो अवसरमा मन्त्री बस्नेत जलवायु परिवर्तनका कारण हरेक वर्ष नेपालका हिमालयमा हिउँको तह पातलिँदै जानुका साथै वर्षायाममा पहाडमा पहिरा र तराईमा बाढीको प्रकोप बढ्दै गएको उल्लेख गर्नुभएको उहाँका प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिनुभयो ।
नेपालले अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने बताउँदै मन्त्री बस्नेतले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि नेपालले बृहत्तर वृक्षरोपण तथा वातावरण संरक्षणको दीर्घकालीन योजना निर्माण गरेर काम थालेको जानकारी गराउनुभएको थियो ।
सो अवसरमा राजदूत मोरिसले नेपालले वन्यजन्तु संरक्षणका क्षेत्रमा हात पारेको उपलब्धि विश्वकै लागि उदाहरणीय भएको बताउँदै वन्यजन्तुको अवैध कारोवार तथा निकासी रोक्न सबै पक्ष मिलेर काम गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
राजदूत मोरिसले आगामी ११ र १२ अक्टोबारमा लण्डनमा हुने ‘वन्यजन्तुको गैरकानूनी व्यापारसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेर सहभागी भइदिन मन्त्री बस्नेतलाई निमन्त्रणासमेत दिनुभएको मन्त्रालयले जनाएको छ ।
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस