अर्थ संसार, म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–७ मा रहेको धारापानी सामुदायिक वन उपभोक्ता समूहले घाँस दाउरा बेचेर भएको आम्दानी विद्युतीकरणमा परिचालन गरेको छ ।
वन समूहले गाउँपालिकामै पहिलोपटक धारापानीमा भएको विद्युतीकरण योजनाका लागि करीब रु साढे तीन लाख लगानी गरेको हो । हालसम्म २०१ घरधुरी उपभोक्तालाई विद्युत्को मिटर जडान गर्न रु एक हजार ७०० का दरले अनुदान दिइएको उपभोक्ता समूहका अध्यक्ष टेकबहादुर थापाले जानकारी दिनुभयो ।
“विद्युत् सुविधा भएपछि वन तथा वातावरण संरक्षणमा सहयोग पुग्ने भएकाले घाँस र दाउरा बेचेर जम्मा गरेको रकम सहयोग गरेका हौँ” अध्यक्ष थापाले भन्नुभयो । सात वटा वडा रहेको धौलागिरि गाउँपालिकाको धारापानीमा भदौ महीनादेखि बिजुली बल्न थालेको हो ।
विसं २०६७ देखि शुरु भएको विद्युतीकरण योजनाबाट २०१ घरधुरी लाभान्वित भएका उपभोक्ता समितिका सचिव किरन थापाले बताउनुभयो । सचिव थापाका अनुसार गाउँपालिका, नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्र, सामुदायिक वन उपभोक्ता समूह, स्थानीयवासी, तत्कालीन जिविस र गाविसको रु ५६ लाख ८३ हजार ७६० को लागतमा योजना निर्माण भएको हो ।
धेरै वर्षसम्म उज्यालोका लागि सिट्ठा र दियालो बालेर रात कटाएका धारापानीका रामबहादुर खत्रीले गाउँमा बिजुलीसँगै विकासको अवसर भित्रिएको बताउनुभयो । उज्यालोका अतिरिक्त फर्निचर, अल्लो प्रशोधन, राईसमील, मासु पसल सञ्चालन हुन थालेको छ । रसस
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस