राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारले राज्य संयन्त्रको दुरुपयोग गरी समाजमा आतंक सिर्जना गरेको आरोप लगाएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद शाहीले सञ्चारमाध्यम र प्रतिपक्षी दलका नेताहरूलाई लक्षित गरी सरकारले गलत गतिविधि गरिरहेको दाबी गर्नुभयो । उनका अनुसार मिडिया र प्रतिपक्षी नेताका घर अगाडि अवैध रूपमा सवारीसाधन पार्किङ गराउने, त्यसको भिडियो खिचेर सामाजिक सञ्जालमा फैलाउने र 'अल्गोरिदम' को प्रयोग गरेर जनमतलाई गलत रूपमा प्रभावित पार्ने काम भइरहेको छ । सरकारले यस्ता गतिविधिमार्फत विरोधीहरूलाई दबाउन खोजेको उनको आरोप छ ।
‘घरको अगाडि पार्किङ गराएर, अल्गोरिदम फैलाएर जसरी राज्य आतंक सिर्जना गरिएको छ, यो कालान्तरमा इतिहासमा कालो अक्षरले लेखिनेछ,’ उनले भने ।
हिजो सिंहदरबारभन्दा मान्छेको जीवन ठूलो भन्नेहरूले नै आज मान्छेको जीवनभन्दा नियम ठूलो भन्ने गरेको टिप्पणी समेत गरे । ट्राफिक नियम पालना नगर्दा सर्वसाधारणलाई कारवाही भइरहँदा प्रधानमन्त्री र गृहमन्त्रीलाई कारवाही किन हुँदैन भनी उनले प्रश्न गरेका छन् । प्रधानमन्त्री र गृहमन्त्रीले सिटबेल्ट नलगाई गाडी चलाउने गरेको भन्दै शाहीले उनीहरुलाई पनि कारबाहीको माग गरे । शाहीले कर्णालीमा भिरमा अड्किएका नागरिकको समयमै उद्धार हुन नसक्दा मृत्यु भएको घटनाबारे सरकारसँग जवाफ माग्दा त्यसलाई राजनीतिकरण गरिएको भन्ने आरोप लगाइएको बताए । साथै उनले राजनीतिकरण भनेको केहो भन्ने उदाहरणसहित सुनाए ।
‘आफैं सरकारमा बस्ने, आफैं आफ्ना कार्यकर्ता लगाएर सञ्चारमाध्यमका कार्यालय र प्रतिपक्षका घरअगाडि अवैध पार्किङ गराउने, त्यसको भिडियो बनाएर सर्वसाधारणले गरेको भन्दै अल्गोरिदम फैलाएर मिडियाबाजी गर्ने गतिविधिलाई राजनीतिकरण भनिन्छ। पानी बाँड्न गएको हुँ भन्ने, पोशाक लगाएका विद्यार्थीलाई ढाल बनाएर लासको सिँढी चढ्दै राज्यसत्तामा पुग्ने गतिविधिलाई राजनीतिकरण भनिन्छ । भिरमा अड्किएको मान्छेलाई उद्धार गर भन्नु राजनीतिकरण होइन,’ उनले भने ।
शाहीले थप भने, ‘संसद भवन चाहिँदैन, संसद चाहिँदैन भन्दै आगो लगाउने, तर पछि त्यही संसदको चुनाव लड्ने गतिविधिलाई राजनीतिकरण भनिन्छ । आफू पदमा नहुँदा नेताको तलब हटाउनुपर्छ, अगाडि–पछाडि टाइँटाइँ र टुइँटुइँ गाडी सुरक्षाकर्मी राख्न हुँदैन भन्ने, सत्तामा पुगेपछि आफ्नै अगाडि पछाडि सुरक्षाकर्मीको लावालस्कर र प्रवृत्तिलाई राजनीतिकरण भनिन्छ ।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस